११ फागुन । कर्णालीका महिलाले भोगेका पीडा र उनीहरूको कष्टकर दिनचर्या समेटिएको पुस्तक प्रकाशन गरिएको छ । जुम्लाकी लक्ष्मीकन्या बुढाले उक्त किताब लेखेकी हुन् ।
पुस्तकमा सदियौं देखि कर्णालीका महिलाले भोग्नु परेका समस्या, राज्यको उपेक्षा, पितृसतात्मक समाजले निम्त्याएका अप्ठ्यारा पुस्तकमा समेटिएका छन् । शनिबार जुम्लामा द्वन्द्वपीडित महिलाहरुको उपस्थितिमा उक्त पुस्तक विमोचन गरिएको हो ।
पुस्तकमा दश वर्षे जनयुद्धका बेला कर्णालीका महिलाले भोगेका दुःख र बलिदानीका कथा पनि समेटिएका छन् । लेखक बुढा सशस्त्र द्वन्द्वमा संलग्न भएकी महिला हुन् ।
पुस्तक विमोचनमा बोल्दै लेखक बुढाले महिला मुक्तिका कुरा नारामा मात्र सिमित रहेको बताइन् । उनले भनिन्, 'यस पुस्तकले महिला हिंसा विरुद्धको अभियानका लागि अभिप्रेरित गर्छ ।'
कर्णालीका महिला गर्भैदेखि हिंसामा
पुस्तक विमोचन कार्यक्रममा महिला अधिकारकर्मी भगवती श्रेष्ठले कर्णालीका महिला गर्भबाटै हिंसामा परेको बताइन् । उनले भनिन्, 'गर्भमै चेकजाँच गरेर छोरी भए गर्भपतन गराउने र छोरा भए जन्माउने समस्या बढ्दै गएको छ । यस विषयमा महिलाहरु पनि सशक्त हुन सकेका छैनन् ।'
पुरुषबादी सोचका कारण महिलाले भोगिरहेको कष्टलाई पुस्तककले यथार्थ चित्रण गरेकोले सबैलाई अध्ययन गर्न पनि उनले आग्रह गरिन् ।
उक्त अवसरमा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले पुस्तकमा कर्णालीका महिलाको प्रतिबिम्ब देखिएको बताए । डिएसपी सिताराम रिजालले अपराधमा शुन्य सहनशिलताको अभियान शुरु गरिएको जानकारी दिए ।
यस्तै हिमा गाउँपालिकी उपाध्यक्ष हिमाली रोकायाले महिला हिंसा अन्त्य लागि घरबाटै प्रयास गर्नुपर्ने सुझाब दिईन ।
को हुन् बुढा?
तत्कालिन गुठिचौर गाविस हाल गुठिचौर गाँउपालिका ३ निवासी लक्ष्मीकन्या बुढा लामो समय देखि सक्रिय राजनितीमा आवद्व छन् । उनको जन्म २०४५ सालमा भएको हो ।
उनी जुम्लाकी महिला अधिकारकर्मी तथा राजनीतिकर्मी पनि हुन् । निम्नवर्गीय परिवारमा जन्मेकी बुढा महिला मुक्तिका साथै वर्गिय मुद्वाका विषयमा वकालत गर्छिन् ।
बुढाले स्थानीय शान्ति समिति जुम्लाको संयोजकको भूमिका समेत निर्वाह गरेकी छन् ।
प्रतिकृया दिनुहोस्