११ फागुन । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित प्रहरीले एकजनालाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –३ कोलचौरका २३ वर्षीय विकास विकलाई रेडपाण्डाको तीनथान छाला सहित मुसिकोट नगरपालिका –१ गिल्वाङबाट पक्राउ गरेको हो ।
गिल्वाङ क्षेत्रमा रेडपाण्डाको ओसार पसार भइरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले विकको साथबाट उक्त छाला बरामद गर्न सफल भएको हो । ग ५ प ११६५ नम्बरको मोटरसाईकलमा राखेर उक्त छाला ल्याउँदै गर्दा प्रहरीले चेकजाँच गर्ने क्रममा खैरो रंगको झोलामा रेडपाण्डाको छाला भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
मोटरसाईकलमा दुईजना सवार रहेकोमा चेकजाँच गर्ने बेलामा पछाडि बसेको नामथर र ठेगाना नखुलेको प्रतीक भन्ने व्यक्ति भने भागेको बताइएको छ । मोटरसाइकल चालक विकलाई छालासहित पक्राउ गर्न सफल भएपनि पछाडि बसेको व्यक्तिले उल्टै प्रहरीलाई धकेलेर सडकभन्दा तलतिरको भीरबाट भागेर फरार भएकोले त्यसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।
विकलाई बरामद गरिएको छाला सहित डिभिजन वन कार्यालयमा बुझाउने तयारी भइरहेको डीएसपी खड्काले बताए । उनको अनुसन्धान जारी रहेकोले वन्यजन्तु ओसारपसारमा संगठित सञ्जाल भेटिएमा त्यस अनुसार पनि कारबाही अगाडि बढाउन सकिने प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्