१२ फागुन । वीरेन्द्रनगर नगरपालिकाले लैङ्गिक हिंसा न्यूनिकरणको लागि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लिएको जानकारी दिएको । आइतबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नगरले हाल सम्म दिइरहेको स्वास्थ्य सेवाको जानकारी र आगामि दिनमा स्वास्थ्यको क्षेत्रमा गरिनु पर्ने पहल, नीति तथा कार्यक्रमको बारेमा सुझाव समेत लिएको छ ।
नगरपालिका जनस्वास्थ्य प्रवर्धन उपशाखा प्रमुख उदय बहादुर थापा क्षेत्रीले छोरी जन्मेपछी एक हजारको बैंक खाता खोलिदिने, आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवति तथा सुत्केरीलाई न्यानो कपडा, एम्बुलेन्स सेवा, एक पटक भिडियो एक्सरे लगाएतका सेवाहरु दिइरहेको जानकारी दिए ।
यसैगरी विद्यालयमा प्याड वितरण, जेष्ठ नागरिक, अपाङ्ग व्यक्तिहरु समेतलाई मैत्रीपुर्ण वातावरणमा सेवा दिइरहेको पनि थापाले बताए । विपन्न नागरिक उपचार कार्यक्रम अन्तर्गत गम्भिर स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई उपचारको लागि अस्पतालहरुसंग समन्वय गरेको र ओसिएमसी सेवामा पनि प्रदेश अस्पतालसंग सहकार्य गरिरहेको नगरपालिकाले जानकारी दिएको छ ।
अस्पतालमा आधारीत एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) सेवा अन्तर्गत कर्णाली प्रदेश अस्पतालले एक वर्षमा १ सय ८० जनाले सेवा पाएका छन् । लैङ्गिक हिंसा पीडित महिला र बालबालिकाहरुका लागि स्वास्थ्य सेवाको रुपमा ०७४ मंसिर १ देखि सुरु गरिएको उक्त सेवा ०७५ माघ सम्म एक सय ७७ महिला र १३ पुरुषले लिएको ओसिएमसी सेवाको सम्पर्क व्यक्ति कल्पना थापाले जानकारी दिइन् ।
कार्यक्रममा सहभागीले आगामि दिनमा स्वास्थ्यमा पहुँच नपुगेको समुदायमा शिविरहरु सञ्चालन गर्नुपर्ने, निशुल्क प्याड वितरण र घरायसी प्याड निर्माण तालिम दिनुपर्ने, भ्रूण पहिचान गर्भपतन रोक्ने, जनचेतनामुलक कार्य गर्ने, बाल विवाह रोक्न पहल गर्ने र जेष्ठ नागरिकलाई सहज स्वास्थ्य सेवा दिलाउने लगाएतका कामलाई प्रभावकारी रुपमा गर्न नगरपालिकालाई सुझाव दिएका थिए ।
नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले सहभागीका सुझावहरुलाई नगरको आगामी नीतिमा समेट्ने प्रतिवद्धता व्यक्त गरिन् । यसैगरी उनले आफूहरुले निशुल्क प्याड वितरणको अभ्यास सुरु गर्ने सम्बन्धि पनि सोचिरहेको बताइन ।
संघबाट प्राप्त अनुदान अन्तर्गतको ६५ करोडबाट स्वास्थ्यको क्षेत्रमा ३० लाख मात्रै छुट्याइएकोले बजेटको अभाव रहेको उपशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्