१२ फागुन । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेका नरेन्द्र विक र खोटाङको दिक्तेल नगरपालिका–७ की रिना राईले प्रगतिशील विवाह गरेर विवाहमा लाग्ने खर्चजति सबै विद्यालयमा सहयोग गरेका छन् ।
विप्लब निकट नेकपा रुकुमपूर्वका सेक्रेटरी समेत रहेका विकले आफूले प्राथमिक तह अध्ययन गरेको सरस्वती मावि सल्लेमा आइतबार वैवाहिक कार्यक्रम गरेका हुन् ।
छोराबुहारीको चाहना अनुसार विवाह गर्ने सबै फजुल खर्च कटाएर शैक्षिक उन्नति, प्रगति तथा सामाजिक सेवाको काममा लगाउने निर्णय गरिएको नरेन्द्रका बुवा फत्तेसिंह नेपालीले बताए ।
पछिल्लो समयमा समाजमा विवाह, ब्रतबन्ध, पुजाआजा लगायतका कार्यमा निकै भड्किलोपन बढेको भन्दै त्यसलाई निरुत्साहित गरी नयाँ संस्कार, संस्कृति र परम्पराको थालनी गरिएको उनको भनाई छ ।
विवाह खर्चबाट बचाएको करिब पाँचलाख रुपैयाँ वैवाहिक कार्यक्रमबाटै विभिन्न विद्यालयमा हस्तान्तरण गरिएको छ । जसमा सरस्वती मावि सल्लेमा नगद एकलाख ५१ हजार रुपैयाँ, ५० हजार रुपैयाँ बराबरको कापीकलम र डायरी तथा ५० हजार रुपैयाँ बराबरको जीवनउपयोगी पुस्तकहरु हस्तान्तरण गरिएको छ ।
त्यस्तै जलजला मावि थवाङ रोल्पालाई एकलाख रुपैयाँ र अभिभावक विहीन, दलित तथा विपन्न तीनजना बालबालिकाहरुलाई जनही ५० हजारका दरले एकलाख ५० हजार रुपैयाँ उपलब्ध गराएको नेपालीले जानकारी दिए ।
वैवाहिक कार्यक्रममा दुलाह नरेन्द्रको शिक्षादिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने शिक्षकहरुलाई सम्मान समेत गरिएको छ ।
उक्त प्रगतिशील विवाह तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरु, स्थानीय जनप्रतिनिधि, स्थानीयबासी लगायत नेकपाका केन्द्रिय सदस्य चिरण पुन मिलन, दलित मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष एवं पूर्व सभासद् सीता विक सम्झना, जिल्ला स्तरीय नेताहरु, पत्रकार, विद्यार्थी लगायतको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस्