Birendranagar Municipality

मौलिकता झल्काउने चैतलो पर्व (फोटो कथा)

रत्न भण्डारी/हुम्ला
मौलिकता झल्काउने चैतलो पर्व (फोटो कथा)

२१ फागुन । चैतलो पर्वमा महिलाले चैतलो अर्थात देउडा खेल्दा परम्परागत पहिरन तथा पुराना लोभ हुन लागेका बहुमुल्य गहानामा सिङ्गारिएर पहेलो कपडा लगाउने गर्दछन् ।

 

हुम्लाको सिमकोट गाउँपालिका वडा २ स्थित साविक ठेहे गाविसमा हरेक वर्षको फागुन १२ र १३ गते यो मेला लाग्ने गर्दछ । युवा पुस्ताले रातिको समयमा आफ्ना उमेर समुहका युवायुवती मिलेर देउडा खेल खेल्ने परम्परा समेत रहेको छ ।


खार्पुनाथ गाउँपालिकाको हिमालबाट फागुन १२ गतेका दिन चैतलो अर्थात देउडा खेलिरहेको समयमा एक महिलालाई राक्षसले भगाएर लिएको परम्परागत मान्यतामा यो पर्व मनाउने चलन रहेको ६५ वर्षिय बलरुप बोहराले बताए । महिलाले चैतलो खेलिरहेको समयमा पुरुषले फोहोर कपडा लगाउने, खरानि बोकेर छर्कदै जाने जस्ता क्रियाकलाप गरेर राक्षसलाई भुलाई महिलालाई फिर्ता ल्याउन सकिने पुर्खादेखिको विश्वास रहिआएको छ ।


यो पर्वको अन्तिम दिनमा महिलाहरुको पुरानो गादोले बनेको दौरा लगाएर बोहरा र भण्डारी दुई जातिका पुरुषले प्रतिस्प्रधाका रुपमा तरवार समातेर नाच देखाउने गरेको ठेहेका स्थानिय शंकर रावले जानकारी दिए ।


गाउँ नजिकमा रहेको सबैलाई पाएक पर्ने स्थानमा महिलाले सिंगारिएका पहिरन लगाएर गीत खेल्ने गर्छन भने पुरुषहरुले फोहोर कपडा लगाएर, खरानि पोका बनाएर महिलाले गीत खेलिरहेको खालि जग्गामा गई राक्षसलाई भुलाउन नाच देखाउने गर्छन । साथै चैतलो पर्वमा काठका सामाग्रीबाट घोडा बनाएर आफुले चडेर नृत्य पनि गरिन्छ ।


यो पर्वमा महिला पुरुषहरुले पुराना धातु सामाग्री लगाएर सजिने गर्दछन् । पर्वको रमाइलो हेर्नका लागि नजिकका गाउँबाट एक दुई दिन पैदल हिडेर मानिसहरु ठेहे पुग्छन् ।


विशेष गरि ठेहे गाउँमा उत्पत्ति भएको यो दुर्लभ चैतलो पर्व पछिल्लो समय लामा समुदाय, अन्य गाउँवस्तिमा रहेका क्षेत्री समुदायले समेत चाड पर्वका रुपमा लिएर मनाउने गरेका छन् ।


केही वर्ष यता जिल्ला सदरमुकाम सिमकोटमा पनि यो पर्वलाई मनाउने गरिएको छ ।

Chaitalo 4Chaitalo 3Chaitalo 6Chaitalo 5Chaitalo 2Chaitalo 1

२०७५ फागुन २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्