Birendranagar Municipality

डिजिटल कर्णाली बन्नेमा मुख्यमन्त्री आशावादी

सेरोफेरो/सुर्खेत
डिजिटल कर्णाली बन्नेमा मुख्यमन्त्री आशावादी

तस्बिर: कुइक खबर 

फागुन २४ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही कर्णाली प्रदेश डिजिटल प्रदेश बन्नेमा आशावादी भएको बताएका छन् ।


वीरेन्द्रनगरमा शुक्रबारदेखि शुरु भएको क्यान इन्फोटेकको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारले यस प्रदेशलाई डिजिटल प्रदेशको रुपमा विकास गर्ने कार्य अघि बढाएको र त्यसमा क्यान लगाएत सबैको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे ।


विज्ञान र प्रविधिको विकास बिना अन्य विकासहरु अधुरा रहने भएकाले निर्माण भइसकेका वैज्ञानिक सामग्रीहरुको प्रयोग गर्ने र कर्णाली प्रदेशमै नयाँ आविश्कार गर्नु पर्ने भन्दै उनले डिजिटल प्रविधिको प्रयोग गरेर कामलाई सजिलो र छिटो बनाउने तर्फ लाग्नु पर्ने बताए ।


सूचना र प्रविधिको प्रयोगमा सक्षम नभएसम्म चुनौतिहरु कायम रहने भएकाले यस्ता प्रदर्शनीले कर्णालीको प्रविधिमा टेवा पुग्ने विश्वास लागेको बताउँदै मुख्यमन्त्री शाहीले भने ‘म आफै पनि प्रविधि मैत्री व्यक्ति हुँ, प्रविधिको विकासका लागि तपाइहरु अघि बढ्नुहोस् कर्णाली प्रदेश साथ र सहयोग गर्न तयार छ ।’


कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघ सुर्खेत शाखाद्वारा आयोजित फागुन २८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको उद्घाटन नेपाली वैज्ञानिकहरुद्वारा निर्माण गरिएको रोबोर्टले रिबन काटेर गरेको थियो । कर्णाली प्रदेशमै पहिलो पटक रोबोर्ट ल्याइएको हो ।

IMG_2269
प्रदर्शनीमा मुख्य आकर्षकको रुपमा सूचना प्रविधिको बृहत प्रदर्शनी, प्रत्येक दिन आईटी सेमिनार, लक्की ड्रबाट हरेक दिन एकजनालाई रारा भिजिट, कम्प्युटर ल्यापटप र प्रिन्टर फ्रि सर्भिस क्याम्प, टाईपिङ्ग कम्पीटिसन, नेपाली वैज्ञानिकहरुद्वारा निर्मित रोबोर्ट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, दृष्टिविहिनहरुलाई कम्प्युटर मोवाईल चलाउन सिकाईने छ । सेवा तथा सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेको आयोजकले जनाएको छ ।


इन्फोटेकको उद्घाटन कार्यक्रममा क्यान महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष नवराज कुवँर, महासचिव रञ्जित कुमार पोदार, सदस्य हर्क सेट्ठी, कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मी, क्यान कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारी, क्यानका जिल्ला शाखाहरुका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

२०७५ फागुन २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्