२८ फागुन । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले क्यान इन्फोटेक समृद्धि हासिल गर्ने माध्यम भएको बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा फागुन २४ गतेदेखि २८ गतेसम्म संचालन भएको क्यान इन्फोटेकको समापन कार्यक्रममा बोल्दै भण्डारीले विज्ञान र प्रविधिको प्रयोग गर्न नसक्ने हो भने समृद्धि हासिल गर्न पनि नसकिने बताए ।
इन्फोटेक डिजिटल कर्णाली निर्माणका लागि कोशेढुङ्गा सावित हुने जिकिर गर्दै मन्त्री भण्डारीले भने ‘पल–पल विज्ञानले नयाँ आविश्कारहरु गरिरहेको छ अब कर्णालीबाट पनि विज्ञान र प्रविधि सम्बन्धि नयाँ आविश्कार गर्नुहोस् । जसलाई विश्व बजारमा पठाएर कर्णालीले शीर ठाडो बनाउन सकोस् ।’
पाँच दिनसम्म संचालन भएको उक्त इन्फोटेकमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, पर्यटन मन्त्री नन्दसिं बुढा, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलिया, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी लगायतले अवलोकन गरे ।
क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले प्रविधिको विकास नगरे अरु विकासमा पछि परिन्छ भन्ने मुख्यमन्त्रीको भनाइलाई आत्मसाथ गरेर अगाडि बढ्ने धारणा व्यक्त गरे ।
मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार, कर्णाली प्रदेशमै पहिलो पटक अनलाइन पब–जी गेम जस्ता कार्यक्रमहरु सञ्चालन भएका थिए ।
सूचना प्रविधिको बृहत प्रदर्शनी, प्रत्येक दिन आईटी सेमिनार, लक्की ड्र बाट पाँच जनालाई रारा भिजिटका लागि गोलाप्रथा समेत गरेको छ । कम्प्युटर ल्यापटप र प्रिन्टर फ्रि सर्भिस क्याम्प, टाईपिङ्ग कम्पीटिसन, नेपाली वैज्ञानिकहरुद्वारा निर्मित रोबर्र्ट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, दृष्टिविहिनहरुलाई कम्प्युटर मोवाईल चलाउन सिकाईएको थियो भने सेवा तथा सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो ।
आयोजकका अनुसार इन्फोटेक ३५ हजार बढि दर्शकले अवलोकन गरेका छन् ।
प्रतिकृया दिनुहोस्