वीरेन्द्रनगरका जनताको स्वास्थ्य अबस्था कस्तो छ ? मुख्य समस्याको रुपमा के के समस्या देखीएका छन् ?
अन्य क्षेत्रको तुलनामा वीरेन्द्रनगरको स्वास्थ्य समस्या मध्यम खालको नै छ । बिरामी परेपछि औषधी उपचार समयमै गर्नुपर्छ भन्ने चेतनाका कारण पनि यहाँका जनताहरुमा त्यती ठुलो समस्या देखीएको छैन । जनताको मुख्य समस्याको रुपमा केहि वडाहरु विकट छन् र त्यहाँका जनताहरु स्वास्थ्य चौकीमा जानको लागि घण्टौं हिड्नुपर्ने बाध्यता छ । यो मुख्य समस्याको रुपमा रहेको छ ।
वीरेन्द्रनगर नगरपालीकाका जनताहरुले समयमै औषधी पाउनु प¥यो भन्ने अपेक्षा राख्छन् तर हाम्रो शाखाले प्रत्यक्ष जनतालाई नभई सम्बन्धित स्वास्थ्य संस्थामार्फत सेवा दिने भएकोले यो पनि समस्याको रुपमा रहेको छ । अर्को समस्या भनेको केहि निश्चित कार्यक्रमहरु आउँछन् तर साविकको वडाको लागि मात्र । जनताले हालको वडाको लागि बुुझ्दा पनि समस्या भएको छ ।
यहाँहरुले यो उपशाखाबाट कस्तो सेवा दिइरहनु भएको छ ?
उपशाखाबाट थुप्रै सेवा दिईरहेका छौं । गत वर्ष वीरेन्द्रनगरका निजी तथा सामुदायिक विद्यालयहरुमा बालिकाहरुका लागि सेनेटरी प्याड वितरण गरेका थियौं । त्यस्तै गरी अहिले पनि हामी त्यो कार्यक्रम अगाडि बढाउने योजनामा छौं ।
त्यस्तै वीरेन्द्रनगर नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुलाई आवश्यक पर्ने औषधी, आबश्यक तालिम , स्वास्थ्यकर्मीहरुका लागि आवश्यक सेवा सुविधा समेत सहयोग गर्ने गरेका छौं । स्वास्थ्य संस्थामा आवश्यक औजारहरुको पनि सहयोग गर्दै आएका छौं ।
विभिन्न स्वास्थ्यका क्षेत्रले जोखिमपुर्ण बस्तीहरुमा गई स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएका छौं । स्वास्थ्य संस्थामा आवश्यक पर्ने बत्ती, पानी, घरभाडा समेत यो उपशाखाले बेहोर्ने गरेको छ ।
स्थानिय निकाय र स्थानिय तह हुँदा जनतालाई के फरक सेवा प्रवाह भईरहेको छ ?
स्थानिय निकाय हुदा माथीबाट तोकेको ढाँचामा आएको बजेट अनुसार नै काम गर्नुपर्ने हुन्थ्यो । जहाँ जे विकासको आवश्यकता छ त्यो जनताले पाउँदैनथे । माथीबाट तोकेर आएको बजेटमा चित्त बुझाएर काम गर्नुपथ्र्यो भने स्थानिय तह हुँदा बजेट र कार्यक्रम आँफैले गराउन पाउने भएकोले आवश्यक विकास भएको अनुभूती जनताले गर्न पाएका छन् । जनताको प्राथमिकताका कार्यक्रम लागु भएका छन् ।
स्थानिय निकायमा विषयगत कार्यलयहरु थिएनन् तर स्थानिय तहमा विषयगत कार्यालयहरु पनि छन् ।
जेष्ठ नागरिक, हिंसा पीडित महिलाहरुको लागि केहि फरक सुविधा छ कि ?
हिंसा पीडित महिलाहरुका लागि शसर्त अनुदानमा अस्पतालमा आधारित एकिकृत संकट एकद्धार प्रणाली नर्शिङ्ग कर्मचारी सहित काम गर्दै आएका थियौं ।
यो वर्ष भने हिंसा पीडित महिलाका लागि कार्यक्रम छैन । जेष्ट नागरिकका लागि कर्णाली प्रदेश अस्पतालमा वार्ड स्थापना भएको छ । अर्को कुरा नगरपालिकाले बा–आमा चौतारी कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै नगरका गर्भवती महिलाहरुका लागि यातायातको सुविधा छ । स्वास्थ्य विमा कार्यक्रमले पनि धेरै राहत भएको छ ।
जनस्वास्थ्य प्रर्वधन उपशाखाले बेहोर्नुपरेका समस्या तथा चुनौतिहरु के हुन् ?
वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी भएको कारण यहाँको जनसंख्या बढी छ । तर कार्यक्रम भनेको नगरका स्थानिय बासीन्दाका लागि मात्रै आउने भएकोले समस्या छ ।
अर्को कुरा खोप केन्द्रका लागि स्थान नभएकोले पनि समस्या खेपिरहेका छौं । सामान्यतया एउटा खोप केन्द्रमा ४० जना बालबालिकाहरुका लागि खोप दिनुपर्ने नियम छ । तर बाहिरबाट आएका बालबालिकाहरुका लागि समेत खोपको सुविधा दिनुपर्ने बाध्यता छ ।
राज्यले दिने सुविधा दिंदैनौ भन्न मिल्दैन तर आवश्यक स्रोत र साधनहरु अपुग हुँदा समस्या हुन्छ । सबैभन्दा ठुलो समस्या खोप केन्द्रका लागि स्थान नहुनु हो ।
यद्यपी जनप्रतिधिहरु भएपछि धेरै सहयोग भएको छ । काम गर्न त्यती अप्ठ्यारो भएको छैन ।
प्रतिकृया दिनुहोस्