Birendranagar Municipality

राउटेले बुझे 'पहिलो तलब'

सीता वली
राउटेले बुझे 'पहिलो तलब'

२९ फागुन । घुमन्ते राउटे समूदायका पाँच जनाले पहिलो पटक बैंकबाट तलब बुझेका छन् । सामाजिक सेवा केन्द्र सोेसेकले गत फागुन १२ गते उनीहरुलाई सामाजिक कार्यकर्ताको रुपमा नियुक्त गरेका थियो ।


समूदायका सूर्यनारायण शाही, डिलबहादुर शाही, बीरबहादुर शाही, प्रकाश शाही र मैनबहादुर शाहीले प्रतिव्यक्ति १५ सय रुपैयाका दरले पहिलो महिनाको तलब बुझेका हुन् ।

 

सुर्खेतस्थित मेगा बैंकबाट तलब बुझेका राउटेले आफूलाई खुशी लागेको बताए । राउटे मैनबहादुर शाहीले भने, ‘पहिलो पटक चेक समाएको हुँ । चेक दिएर पैसा लिन पाउँदा खुसी लाग्यो ।’

 

'पैसा छोए पाप लाग्छ भन्ने चलन थियो तर जागीर खाएर पैसा पाउँदा खुसी लाग्यो', प्रकाश शाहीले भने, ‘पैसा त धेरै पटक समाईयो तर बैंकबाट भने पहिलो पटक पाइयो ।’

 

सामाजिक सेवा केन्द्र सोसेकका अध्यक्ष हिरासिंह थापाले राउटे समूदायलाई बैंकको पहुँचमा पु¥याउन चेकमार्फत् तलब दिएको बताए ।

 

परासामाजिक कार्यकर्ताका रुपमा जागीर खाएका राउटेको काम समूदायका बालबालिकालाई पोषण खुवाउने, सरसफाईका कुरा गर्ने तथा औषधी खुवाउनको लागि सहयोग गर्ने हो ।

 

राउटेले जथाभाबी जंगलको फँडानी गर्ने भएकोले त्यसलाई रोक्नको लागि पनि उनीहरुलाई जागीरको व्यवस्था गरिएको थापाले बताए । थापाका अनुसार उनीहरुको जागीर अवधी एक वर्षको हुनेछ ।

 

२०७५ फागुन २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्