७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली थ्रि बि जलविद्युत आयोजनाको साधारण शेयर (आइपिओ) को १० हजार कित्ता शेयर खरिदका लागि आवेदन भरेका छन् । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित नेपालको पानी जनताको लगानी कार्यक्रमको उद्घाटन गर्दै ओलीले उक्त लगानी गरेका हुन् ।
सोही अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ताको आवेदन भरेकी छन् । यस्तै उर्जामन्त्री बर्षमान पुनले १ हजार कित्ता, पूर्व सभामुख ओनसरी घर्ती मगरले २ हजार कित्ताको आवेदन गरेका छन् ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले सर्वसारधणलाई यस्ता आयोजनामा लगानी गर्न प्रोत्साहित गर्न आफूले पहिलो आवेदन दिएको बताए । उनले भने, 'मौरीले थोरै थोरै फूलको रस संकलन गरेर धेरै मह जम्मा गरेजस्तै नेपालीको थोरै थोरै लगानीले ठूला आयोजनाहरु निर्माण गर्न सकिन्छ । यो अभियान यसैको थालनी हो । आवश्यकता अनुसार पर्यटन, कृषि आदि क्षेत्रमा पनि यस्तो अभियान सञ्चालन गर्न सकिन्छ ।'
प्रधानमन्त्री ओलीले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई अभियानमा सरिक हुन आव्हान गरेका छन् ।
प्रतिकृया दिनुहोस्