Birendranagar Municipality

जातिय भेदभाव बिरुद्ध ऐक्यवद्धता

बिर तिरुवा/कालिकोट
जातिय भेदभाव बिरुद्ध ऐक्यवद्धता

८ चैत्र । नरहरीनाथ गाउँपालिका वडा नं. १ कोटबाडामा जातिय भेदभाव बिरुद्ध ऐक्यवद्धता र्‍याली तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ५४ औँ अन्तर्राष्ट्रिय रंगभेद बिरुद्धको दिवसको सन्दर्भ पारेर नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटले सञ्चालन गरेको साझा कार्यक्रम अन्तर्गत र्‍याली तथा छलफल गरिएको हो ।

 

वडा कार्यालयसंगको समन्वयमा आयोजित कार्यक्रममा सहभागीहरुले जातिय भेदभाव अन्त्य गर्न सामूहिक प्रतिबद्धता गरेका छन् । कार्यक्रममा वडा अध्यक्ष पृथ्वीबहादुर बिष्टले विकासका लागि जातिय भेदभाव तथा छुवाछुत बाधक हुने भन्दै आगामी दिनमा वडाबाटै बजेट विनियोजन गरेर जातिय भेदभाव बिरुद्ध जनचेतना मूलक कार्यक्रम गर्ने बताए ।

 

उनले राष्ट्र जातिय भेदभावमुक्त घोषणा भएपनि व्यवहारमा पूर्व कार्यान्वयन नभएको यर्थाथ दर्शाउँदै त्यसका लागि व्यवहारिक रुपमै कार्यान्वयन गर्न सबैलाई आग्रह गरे । मानव अधिकार पैरवी सञ्जाल नरहरीनाथका उपाध्यक्ष भावना बुढाले जातिय भेदभाव मानव अधिकार बिरुद्धको कार्यभएको भन्दै यसको अन्त्यका लागि सरोकारवाला निकायहरु जागरुक हुनुपर्ने बताइन् ।

 

मानव अधिकार पैरवी सञ्जालले मानव अधिकार उल्लंघनका घटना न्यूनीकरणका लागि काम गरिरहेकोले अभियानमा सहयोग गर्न आग्रह गरिन् । कार्यक्रममा शिक्षक, महिला स्वंसेविका, वडा कार्यालयका प्रतिनिधि, क्याम्पस, स्वास्थ्य कार्यालय, आमा समूह, वडा स्तरका मानव अधिकार पैरवी सञ्जाल, वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति लगायतका प्रतिनिधिगरी करिब ९० जनाको उपस्थिति रहेको थियो ।

२०७५ चैत्र ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्