११ चैत । कर्णालीमा कैदीलाई पुस्तक अभियान अन्तर्गत पहिलो पटक जुम्ला कारागारमा पुस्तक क्लव गठन गरिएको छ । कारागारमा कैदीको जीवन विताइरहेकालाई पुस्तक पढेर योग्य नागरिक बनाउने उद्देश्यले पुस्तक क्लवको गठन गरिएको हो ।
कर्णाली प्रदेशका डिआईजी महेशबिक्रम शाहको उपस्थितिमा उक्त क्लव गठन गरिएको जिल्ला प्रहरी जुम्लाले जनाएको छ । गगन बहादुर शाहीको संयोजकत्वमा ७ सदस्सीय पुस्तक क्लव गठन भएको हो ।
विभिन्न अपराधमा संलग्न भएर कैदीको जीवन विताईरहेका कैदीबन्दिको चाल चलन, व्यवहार सुधार्ने अभियानको प्रमुख लक्ष्य रहेको बताईएको छ । उक्त अवसरमा बोल्दै डिआईजी शाहले कर्णालीका १० वटै जिल्लामा पुस्तक अभियान थालिएको बताए ।
जुम्ला कारागारमा पुस्तकालय स्थापनाका लागि हाल ७ सय पुस्तक निशुल्क प्रदान भएको डिएसपी सिताराम सिजालले बताए । चन्दननाथ नगरपालिका जुम्लाकी मेयर कान्तिका सेजुवालले स्थानीय सरकार कैदी सुधारमा सहयोग गर्न प्रतिवद्ध रहेको बताइन् ।
यस्तै प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पठन संस्कृतिको बिकास गर्न कर्णालीका प्रत्येक कारागारमा पुस्तकालय निर्माण गरिएको बताईन् । उनले भनिन्, अध्ययन मानिसको प्रगतिको बाटो हो । त्यसमा पनि यहाँका महिलाले पुस्तक पढ्न जरुरी छ ।
कारागारमा इतिहास, राजनीति, कानुन, साहित्य र जीवन दर्शन सम्बन्धी पुस्तक राखिएका छन् । जेलर टंकराज न्यौपानेका अनुसार कर्णालीमा शुरु भएको यो अभियानमा केदीबन्दी निकै उत्साहित छन् ।
कर्णाली प्रदेशका १० वटै जिल्लामा यही चैत २३ गते एकसाथ पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतिकृया दिनुहोस्