१५ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आर्थिक समृद्धिका निम्ती उत्पादनमा जोड दिनुपर्ने बताएकी छन् । अखिल नेपाल महिला संघको सहकार्यमा मन्त्रालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
उनले भनिन्, सीप सिकाउने, उत्पादन गर्ने र उत्पादित वस्तुको बजारीकरण गर्ने कुरालाई जोड्न सकेनौं भने हामी अगाडि बढ्न सक्दैनौं ।
मन्त्रालयले २६ जिल्लामा गरिब पहिचान गरेको र त्यसअनुसार लक्षित कार्यक्रम बनाउने तयारी भैरहेको उनले जानकारी दिइन् । गरिबीको अन्त्यका निम्ती सहकारीको मोडल उत्तम भएकोले सहकारीमार्फत सामुहिक उत्पादन कार्यक्रम सञ्चालन गरिने उनले बताइन् ।
नेपालमा पहिलो पटक आएको भूमि नीति र भूउपयोग ऐनले संयुक्त लालपुर्जा र जग्गामा महिलाको स्वामित्व स्थापित गरेको मन्त्री अर्यालले बताइन् ।
छलफलमा प्रतिनिधिसभाका सांसदहरू सुजिता शाक्य, मिना बुढा, उदया शर्मा, राष्ट्रिय योजना आयोग सदस्य उषा झा, प्रदेश नम्बर ३ की सांसद बेलीमैया घले, युवा स्वरोजगार कोषका उपाध्यक्ष डा. प्रेम दंगाल, राप्ती नगरपालिकाका मेयर प्रभा बराल, कृषि तथा वनविज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायकी डिन प्रा.डा. शारदा थपलिया, प्रा. कल्याणी मिश्र, अनेमसंघका नेताहरू सर्मिला कार्की, अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्यासिफिकका सदस्य इन्दिरा पन्त, एकल महिला समुहकी संस्थापक अध्यक्ष लिली थापा, कृषि खाद्य सुरक्षा तथा लैंगिक विश्लेषक यमुना घले लगायतले आगामी कार्यक्रम निर्माण गर्दा गरिब लक्षित तथा महिलाको आर्थिक स्थिती कसरी माथि उठाउन सकिन्छ भनेर केन्द्रित रहन सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस्