१७ चैत । प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्धिका लागि सबै खालका आधार र संरचना तयार भएको बताएका छन् ।
काठमाडौंमा आइतबार रिपोटर्स क्लव नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले असहज अवस्थामा पनि कानुन निर्माण र संरचना बनाइएको बताए ।
‘कर्मचारी समायोजन सहज थिएन, तर सकेका छौं, कानुन बनाएका छौं, संविधान कार्यान्वयन गर्ने कानुन र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं,’ उनले भने ‘समृद्ध नेपाल : सुखी नेपालीको सबै आधार तयार भएको छ ।’
समृद्ध नेपाल आफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले सरकारले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरिरहेको प्रधानमन्त्रीको भनाई छ । त्यसका लागि लगानी सम्मेलन उत्साह जनक ढंगले सम्पन्न गरेको र सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ अगाडी बढेको सन्देश दिएको पनि उनको जिकिर थियो ।
प्रधानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भएपनि त्यसलाई असफल बनाइएको भन्दै अब देशमा पृथकतावाद, टुक्र्याउनुपर्छ भन्ने माग नरहेको अवस्था भएको प्रष्ट्याए ।
अहिलेको अवस्थामा जसरी पनि विरोध र जसरी पनि समर्थन गर्नुपर्ने अवस्थामा नरहेको भन्दै प्रधानमन्त्री ओलीले सकारात्मक सोच राख्न यूवा शक्तिलाई आग्रह गरे ।
प्रतिकृया दिनुहोस्