Birendranagar Municipality

कारागार भित्रै अध्ययनको मौका : सुध्रिएला त कैदीको जीवन ?

सीता वली /सुर्खेत
कारागार भित्रै अध्ययनको मौका : सुध्रिएला त कैदीको जीवन ?

१७ चैत । कारागारमा अब कैदीहरुले क्यारमबोर्ड खेलेर समय बिताउन नपर्ने कर्णाली प्रदेशका प्रमुख सचिब रामप्रसाद थपलियाले बताएका छन् । आइतबार कारागारलाई किताब अभियानको आयोजनामा बुक क्लब गठन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।


‘खाली दिमाग राक्षसको घर हो । त्यसैले आफूलाई संधै व्यस्त राख्नुपर्छ । कारागारमा समय बिताउनको लागी कैदि बन्दिहरुले लुँडो र क्यारमबोर्ड खेल्दै आएका छन् । कारागारमा पुस्तकालय स्थापना पछि भने कैदिबन्दिका यी बाध्यता हट्नेछन्’ थपलियाले भने ।


कर्णाली प्रदेशमा सञ्चालन भएको कारागारलाई किताब अभियान नेपालकै नमुना भएको भन्दै थपलियाले यसबाट सबैले पाठ सिक्नुुपर्ने बताए ।


पुस्तकबाट थुप्रै ज्ञान प्राप्त गर्न सकिने भन्दै उनले यसको सहि प्रयोग गर्न समेत कैदि बन्दिहरुलाई आग्रह गरे ।


त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा कारागारलाई किताब अभियानका संयोजक डिआईजी महेशबिक्रम शाहले पुस्तकका माध्यमबाट जिवनको प्रकाश खोज्नुपर्ने बताए ।


उनले भने ‘कारागारलाई सुधार गृह बनाउने नेपाल सरकारको लक्ष्यलाई यो अभियानले सहयोग गर्दछ । किताबमा जीबन बदल्न सक्ने सामथ्र्य हुन्छ । किताबमा भएको ज्ञान जती बढि लिन सक्यो जिबनमा त्यती नै उज्यालो थपिन्छ ।’


पुस्तकालय स्थापना गरेर मात्रै नहुने बताउँदै उनले हरेक शनिबार पुस्तकहरुको समिक्षा गर्ने र मासिक रुपमा सबैभन्दा बढि पुस्तक पढ्नेलाई पुरस्कारको व्यवस्था लक्ष्य भएको पनि उनले स्पष्ट पारे ।


पुस्तकालयको निगरानी र संरक्षणको जिम्मा बुुक क्लवका पदाधिकारीहरुलाई दिने तयारी समेत भएको डिआईजी शाहले जानकारी दिए ।


कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख बिरेन्द्र यादव, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख बसन्त रजौरे, सुर्खेत कारागार कार्यालयका निमित्त जेलर जंगबहादुर थापा लगाएतको उपस्थिती रहेको थियो ।


कारागारमा सात सदस्यीय बुक क्लव गठन

कारागार कार्यालयमा स्थापना हुने पुस्तकालयको संरक्षणको लागि सात सदस्यीय बुक क्लव समेत गठन गरिएको छ । क्लबको सदस्यहरुमा धर्मराज वि.क, खगेन्द्र थापा, भिम बहादुर बि.क, जयबहादुर मल्ल, कमल बिसी, कुमार कार्की र हिरा सिंह रहेका छन् ।


कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका कारागारमा स्थापना हुने पुस्तकालयको संरक्षणको लागि बुक क्लव गठन गरिएको कारागारलाई किताब अभियानका संयोजक महेशविक्रम शाहले बताए ।


यहि चैत्र २३ गते प्रदेशका १० वटै जिल्ला कारागारमा स्थापना हुने पुस्तकालयको तयारी पुरा भएको समेत उनले जानकारी दिए ।

 

अभियानले प्रदेशभर करिब सात हजार पुस्तक संकलन गरी कारागारहरुमा पुस्तकालय स्थापना गर्दैछ । 

२०७५ चैत १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्