Birendranagar Municipality

तयार भए महिला पलम्बर

धनवीर दाहाल, रुकुम
तयार भए महिला पलम्बर

२० चैत । खानेपानीका धेरैजसो योजनाहरु निर्माणपछि उचित मर्मत सम्भार नपाएर अलपत्र पर्ने गरेको सन्दर्भमा रुकुम पश्चिममा योजनाहरुको दिगो व्यवस्थापनका लागि मर्मत सम्भार तालिम सञ्चालन गरिएको छ ।


युएसएआडीको स्वच्छता परियोजनाले आफ्नो योजना क्षेत्रका १६ जना मर्मत सम्भार कार्यकर्ताहरु छनोट गरी उनीहरुलाई तालिम दिएको हो ।


पाँचदिनसम्म चलेको उक्त तालिममा जिल्लाका मुसिकोट नगरपालिकाका दुईजना, आठविसकोट नगरपालिकाका ६ जना, बाँफिकोट गाउँपालिकाका पाँचजना र त्रिवेणी गाउँपालिकाका तीनजना सहभागी रहेका थिए । जसमा सातजना महिलाहरु रहेका थिए ।


स्वच्छता परियोजना अन्तर्गत अहिले यी स्थानीय तहका १० वटा स्वास्थ्य संस्था र आसपासको समुदायका लागि खानेपानी योजना निर्माणको काम गरेको छ । ती योजनाहरु मर्मत सम्भारको अभावले अलपत्र नपरोस् भन्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको स्वच्छता परियोजनाका जिल्ला अधिकृत बमबहादुर खड्काले बताए ।


‘यसअघिका थुपै्र योजनाहरु मर्मत सम्भार नपाएर विग्रँदै गएका देखिन्छन्’ उनले भने ‘अब हामीले बनाएका योजनाहरु दिगो रुपले सञ्चालन होस् भनेर स्थानीयकै क्षमता विकास गरेर मर्मत सम्भारमा जोड्न तालिम सञ्चालन गरेका हौँ ।’ पुरुषहरु प्रायः स्थानीय स्तरमा नबस्ने भएकोले महिलालाई यो तालिम दिइएको उनको भनाई छ ।


तालिम लिएर गएपछि मुहानदेखि धारासम्म सुरक्षित, स्वच्छ र दीगो रुपमा खानेपानी सञ्चालन गर्न समस्या नहुने तालिमका सहभागी रिया मल्लले बताइन । पहिले पाइपका नाम समेत थाहा नपाएका आफूहरुलाई अहिले त्यसको प्राविधिक कामसँगै स्वच्छ खानेपानी आपूर्तिको सम्पूर्ण प्रक्रियाबारे जान्ने अवसर पाएको उनको भनाई छ ।


त्यस्तै यसअघि आफ्नो घरकै खानेपानी लाइन जोड्न नसकेर अरुकै भर पर्नु परेको समस्या सुनाउँदै बाँफिकोट गाउँपालिका ६ की नन्दकली परियारले अहिले धेरै सीप विकास भएकोले गाउँमा गएर समुदायकै खानेपानी मर्मत सम्भारमा जुट्ने अठोट व्यक्त गरिन् । ‘यसअघि पानीको हेरचाह गर्ने एकजना पुरुष प्लम्बरले हामीलाई वास्ता गरेनन् ।’ तालिमका अर्का महिला सहभागी गीता विकले भनिन्, ‘अब मैले पनि प्लम्विङ सिकिसकेँ, समुदायमा समान व्यहार गरेर काम गर्नेछु ।’


तालिमका सहभागीहरुलाई मर्मत सामाग्री तथा औजारहरु समेत प्रदान गरिएको छ । प्रशिक्षक भीमबहादुर मल्लले व्यवहारिक अभ्यास गराउँदै तालिमको सहजिकरण गरेका थिए ।

२०७५ चैत २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्