१ बैशाख । नयाँ बर्ष संगै ज्येष्ठ नागरिक स्वास्थ्य विमा राष्ट्रिय अभियानको शुभारम्भ गरिएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले खोलौं बैंक खाता अभियान कार्यक्रमको गरी अभियानको शुभारम्भ गरेका हुन् ।
सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने पनि प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् । कार्यक्रममा उनले भने, 'यो बुढाबुढीको भलो चिताउने सरकार हो । यसपालीको बजेटमा बृद्धभत्ता बढ्छ । ढुक्क भए हुन्छ ।'
ओलीले भने, 'पहिला पहिला बुढाबुढीहरु कति बर्ष पुग्नुभयो भन्दा ६८ बर्ष पुगियो । अब कति बाँचिएला र? भन्थे । अचेल बृद्धभत्ता पाउन दुई बर्ष बाँकी छ भन्छन् । यसले ज्येष्ठ नागरिकहरु आशावादी भएका छन् ।'
स्वास्थ्य विमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ठूलो भरथेग गर्ने ओलीले बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्यविमा कार्ड वितरण गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली र सासु धनमाया शाक्यले बैंक खाता समेत खोलेका छन् ।
प्रतिकृया दिनुहोस्