१, बैशाख । रुकुम पूर्वको सिस्ने गाउँपालिका –२ प्वाङ नायगाडमा पहिलो पटक डोजर पुगेको छ । गाउँपालिकाको विकट यस क्षेत्रमा पहिलोपटक डोजर पुग्दा स्थानीय हर्षित भएका छन् ।
भौगोलिक रुपले अत्यन्त विकट साविक प्वाङ गाविसको हाल एउटै वडा बनेको छ । यस वडाको नायगाडमा सानीभेरी नदी तरेर पहिलोपटक डोजर पुग्दा सडक सञ्जालमा जोडिने आशा पलाएको स्थानीय चन्द्रराज झाँक्रीले बताए ।
चालु आर्थिक वर्षका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्रतिनिधिसभा सदस्य कमला रोकाको विनियोजित ४० लाख बजेटबाट नायगाड–सिस्ने सडक खण्डका लागि सदरमुकामबाट करिब एक हप्ता लगाएर नायगाडमा डोजर पुर्याइएको हो । अहिले उक्त डोजरले नायगाडको सल्लीविसाउनादेखि सुद्री खण्डको काम गरिरहेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।
प्वाङसँगै जोडिएका साविक सिस्ने र जाङ गाविसमा समेत अहिलेसम्म सडक सञ्जाल जोडिन सकेको छैन । साविक सिस्ने गाविस हालको सिस्ने गाउँपालिकाको १ नम्बर वडामा रहेको छ भने जाङ गाविस पुथा उत्तरगंगा गाउँपालिकामा पर्दछ ।
सिस्ने गाउँपालिकाको रुकुमकोटतर्फबाट यहाँ डोजर पुग्न ठूला चट्टानका कारण समस्या भएकोले धेरै घुमाउरो बाटोबाट भूमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकासम्म पुर्याएर ल्याइएको वडाध्यक्ष केसीले बताए ।
यस क्षेत्रमा सडक विस्तारका लागि विभिन्न योजनाको ठेक्का स्वीकृति भएपनि डोजर पुर्याउन समस्या हुने भन्दै ढिलाई हुँदै आएको थियो । डोजर गाउँ पसेसँगै सडक सञ्जाल विस्तारका साथै व्यक्तिगत घडेरी निर्माण लगायतका काममा सहज हुने अपेक्षा गरिएको छ ।
यहाँ डोजर पुगेसगैं यातायातको पहुँच छिटो विस्तार हुने विश्वास स्थानीयहरुले गरेको वडाध्यक्ष केसीले बताए । तिनै तहका जनप्रतिनिधिहरुले अथक प्रयास गर्दा पनि यहाँ भौगोलिक विकटताका कारण डोजर नपुगेपछि काम गर्न कठिन भएको उनको भनाई छ ।
आगामी आर्थिक बर्षमा यो क्षेत्रमा तिब्र रुपले सडक निर्माणको काम अगाडि बढाउन सबैको सहयोग चाहिने उनले बताए । भौगोलिक जटिलताका बीचमा डोजर लिन आँट गर्ने डोजर अपरेटर लगायत सबैलाई उहाँले धन्यवाद दिएका छन् ।
प्रतिकृया दिनुहोस्