९ बैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को एकतामा देश नै खुशीहुनु पर्ने बताएका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी स्थापनाको ७० औं बार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पहिलो पटक कम्यूनिष्ट पार्टीको सुदृढ बहुमत सहितको सरकार बनेको दुईवटा ठूला वाम पार्टी एक भएको सन्दर्भमा देशले नै खुशी मनाउनु पर्ने बताएका हुन ।
‘हाम्रो एकतामा कम्यूनिष्ट पार्टीले मात्र होइन देशले नै खुशी मनाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने ‘किनकी यो स्थिरताको सुरुवात हो । देश अघि बढाउने कार्ययोजनाको एकता हो ।’
प्रधानमन्त्री ओलीले कुनै बेला कम्यूनिष्टहरुको अन्तराष्ट्रिय गीत ‘हामी जित्नेछौं एक दिन’ खुब गाउने गरेको प्रसंग निकाल्दै आज कम्यूनिष्टहरुले जितेको दिन भएको बताए ।
लामो समयसम्म स्वार्थको राजनीति भएर कम्यूनिष्टहरुले जित्न नसकेको बताउँदै उनले आफ्नो स्वार्थ गौंण र देशको स्वार्थलाई प्रधान मान्ने नेतृत्व आएपछि मात्र कम्यूनिष्टको जित भएको दावि गरे ।
काँग्रेसका केही नेता अझै पनि राजतन्त्र ब्यूताउँने सपना देखिरहेको जिकिर गर्दै उनले भने ‘बिगतमा काँग्रेसका कारण प्राप्त उपलब्धीहरु जोगाउन सकिएन । उसको बानी सहयात्रीहरुलाई अविस्वास गर्ने र बिरोधीहरुसँग मिल्ने छ । अहिले पनि त्यो बानी गएको छैन ।’
प्रधानमन्त्री ओलीले सरकारले देश विकासका निम्ती राम्रा काम गरिरहेको स्पष्ट पार्दै केही मानिसले चेतनामा पट्टी बाँधेकोले सरकारको काम नदेखेको बताए ।
अबको नीति तथा कार्यक्रममा गतबर्ष जनताले अत्याधिक माग गरेका तर समेट्न नसकिएका मागहरु सम्बोधन गरिने पनि प्रधानमन्त्री ओलीले बताए ।
प्रतिकृया दिनुहोस्