सेरोफेरो
जेठ १८ सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले अबको पाँच वर्षभित्रमा नगरवासीले विकास र परिवर्तनको प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन ।
सुर्खेत उद्योग वाणिज्य संघले आज गरेको बधाई तथा सम्मान कार्यक्रममा नगर प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल र वडा नं. ६ का अध्यक्ष मोतिप्रसाद कंडेलले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
आफ्नो राजनीतिक पृष्ठभूमि फरक भएपनि लक्ष्य र उद्देश्य एउटै भएको भन्दै नगरप्रमुख सुवेदीले साझा लक्ष्य प्राप्तिका लागि दत्तचित्त भएर लाग्ने बताए । कर्णाली क्षेत्रको प्रवेशद्धारका रुपमा रहेको सुर्खेतलाई समुन्नत र समृद्ध शहर बनाउनका लागि निजी क्षेत्रसंग सहकार्य गरिने भन्दै उहाँले वीरेन्द्रनगर नगरलाई प्रदेशकै नमूना नगरपालिका बनाउने उनले दृढता व्यक्त गरे ।
यस्तै उपप्रमुख ढकालले आर्थिक समृद्धिका लागि महिलाहरुलाईपनि व्यवसायिक तथा उत्पादनमूलक काममा लगाउनुपर्नेमा जोड दिंदै त्यसका लागि स्पष्ट खाका बनाइने जानकारी दिइन ।
विगतमा राजनीतिक अधिकार प्राप्तिका लागि जिल्लास्थित सबै क्षेत्रले सहकार्य गरेको स्मरण गर्दै उहाँले अब आर्थिक उन्नतिका लागि त्यसरी नै सहकार्य गर्नुपर्ने आवश्यकता औल्याइन् ।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले वीरेन्द्रनगरलाई हर्बल सिटीका रुपमा विकास गर्नुपर्नेमा जोड दिंदै सार्वजनिक निजी सहकार्यको अवधारमा अघि बढ्न सुझाव दिए ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशन नं. ६ का अध्यक्ष पदमबहादुर शाहीले ६ नं. प्रदेशमा पर्यटन व्यवसायका सम्भावना प्रशस्त रहेको भन्दै सुर्खेतलाई पर्यटनको हवका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी संघअन्तर्गतका विभिन्न वस्तुगत समितिका पदाधिकारी, व्यापारी व्यवसायीहरुले समेत सुझावहरु दिएका छन ।
प्रतिकृया दिनुहोस्