११ वैशाख । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भेरी बबई डाइभर्सन वहुउद्धेश्यीय आयोजना अन्तर्गत निर्माणाधिन ४८ मेगावाटको विद्युत आयोजना कर्णाली प्रदेशले पाउनुपर्ने बताएका छन् ।
‘यो तपाईहरुको अधिकार हो’ सोमवार सुर्खेतमा संघीय संसद प्रतिनिधि सभाको अर्थसमितिले आयोजना गरेको पुर्व वजेट छलफल कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पाण्डेले भने ‘विद्युत आयोजनाको निर्माणकार्य संघीय सरकारले सम्पन्न गरेर उपहार योजनाका रुपमा कर्णालीलाई हस्तान्तरण गर्नुपर्छ ।’
विद्युत आयोजना पाउनुपर्ने कर्णालीको माग न्यायिक रहेको भन्दै पाण्डेले विद्युत आयोजना निर्माण गरि हस्तातरण गर्ने मोडालिटि तयार गर्न संघीय सरकारका उर्जामन्त्री र अर्थमन्त्रीलाई बोलाएर निर्देशन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
अर्थसमितिका सदस्य समेत रहेका पूर्र्व अर्थमन्त्री पाण्डेले वजेटको अवस्था, जनशक्ति र आन्तरिक क्षमतालाई विश्लेषण गरेर मात्रै योजना निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले राष्ट्रिय पुँजीको विकास नगरि मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने बताएका छन् । मुख्यमन्त्री शाहीले राष्ट्रिय पुँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने धारणा राखे ।
‘हामी अहिलेसम्म आयातमा निर्भर छौं, अब निर्यातलाई वृद्धि गर्न उत्पादन वृद्धिको योजना ल्याउन जरुरी छ’ मुख्यमन्त्री शाहीले भने । कर्णालीको विकासको पहिलो प्राथमिकता भौतिक पुर्वाधारको विकास भएको बताउँदै मुख्यमन्त्री शाहीले सडक र विद्युतको अवस्थाका कारण कर्णालीमा ठूला उद्योग तथा विकास निर्माणको काममा प्रभाव परिरहेको बताए ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, कर्णाली योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी, कर्णाली प्रदेशसभा अर्थ समितिका सभापति अमरबहादुर थापा लगायतले कर्णालीको विकास योजनाको प्राथमिकताका बारेमा धारणा राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्