२३ बैशाख । कर्णाली प्रदेश सरकारले व्यवसायिक किसानहरुलाई भैंसी वितरण गरेको छ । दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैंसी वितरण गरेको हो ।
मन्त्रालयले आज बराहताल गाउँपालिका १० ओदानतालका ४० कृषकलाई एक/एक वटा भैंसी हस्तान्तरण गरेको हो । कृषकमा आधारित भैंसीपालन व्यवसाय कार्यक्रम अन्तर्गत सुर्खेतका कृषकहरुलाई भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुर्खेतको सहजीकरणमा भैंसी हस्तान्तरण गरिएको हो ।
भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जनज्योति कृषि तथा पशु सहकारी संस्था ओदानतालका सदस्यहरुलाई भैंसी हस्तान्तरण गर्नुभयो । कर्णाली प्रदेश सरकारको रु. ५० लाख, कृषकको रु. १० लाख, वराहताल गाउँपालिकाको रु. ५ लाख र लागत सहभागिताको रु. ५ लाख गरी ७० लाखमा भैंसी खरिद गरेर वितरण गरिएको सहकारीका अध्यक्ष ईश्वरभक्त सुनारले जानकारी दिए ।
अध्यक्ष सुनारका अनुसार भैंसी कैलालीबाट खरिद गरि ल्याइएको हो । सहकारीले खरिद गरेका ती भैंसी किसानलाई गोलाप्रथा मार्फत छनौट गरिएको थियो । सहकारीका अध्यक्ष सुनारका अनुसार १५ भैंसी दुहुना रहेको तथा वितरण गरिएका भैंसीको सहकारीले बिमा गरिदिएको छ ।
भैंसीको स्रोत केन्द्रको रुपमा सुर्खेतलाई विकास गरिने :
भैंसी वितरण कार्यक्रममा मन्त्री केसीले किसानको आयआर्जनमा वृद्धि गर्न प्रदेश सरकारले आगामी वर्ष पनि यस्ता कार्यक्रम निरन्तरता दिने बताइन् । मन्त्री केसीले भनिन् 'भैंसीको स्रोत केन्द्रका रुपमा सुर्खेतलाई विकास गर्नुपर्छ, यसका लागि किसानहरुले व्यवसायिक घाँस खेतीमा जोड दिनुपर्छ ।'
उनले भनिन् 'आगामी वर्षको बजेट किसानमुखी भएर बजेटको विनियोजन गरिनेछ ।' सरकारले कृषिमा दिने अनुदान दुरुपयोग नगर्न आग्रह गर्दै मन्त्री केसीले भनिन्, भैंसीपालन गरेर आयआर्जन गर्नुस् तर, अनुदानमा पाएका भैंसीलाई बिक्री नगर्नुस । मन्त्री केसीले भनिन् 'अनुदानको भरपुर सदुपयोग गर्नुहोस्, अव सरकारी अनुदानलाई गरिव किसानले खोज्ने भन्दा सरकार गरिव खोज्दै जान्छ ।'
कार्यक्रममा प्रदेश सभा सदस्य विन्दमान विष्टले सरकारी अनुदानलाई सदुपयोग गरि आत्मानिर्भर हुन आग्रह गरे । बराहतालका किसानहरुले यहाँको दुधको आवश्यकतालाई परिपुर्ति गर्न सक्ने गरि काम गर्नपर्ने बताए ।
बराह ताल गाँउपालीका अध्यक्ष तेजवहादुर वस्नेतले ब्यवसायिक किसानलाई गाँउपालीकाले पनि अनुदान दिने सो अवसरमा बताए । दुध उत्पादनका आधारमा किसानलाई प्रोत्साहन अनुदान प्रदान गरिने अध्यक्ष वस्नेतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्