Birendranagar Municipality

नीति तथा कार्यक्रममा 'मेरो सरकार' जानीबुझी राखेको हो : प्रधानमन्त्री ओली

सेरोफेरो
नीति तथा कार्यक्रममा 'मेरो सरकार' जानीबुझी राखेको हो : प्रधानमन्त्री ओली

२४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ जानीबुझी कन राखेको स्पष्ट पारे । “राष्टपतिज्यूले मेरो सरकार भन्नुभयो, दुनियाँभरको अभ्यास हो, पोहोर थिएन, केही अभ्यास मिलेको छैन ।

 

यो वर्ष मिल्यो, अर्को पटक धेरै कुरा मिलाइन्छ,” प्रधानमन्त्री ओलीले भने, “कांग्रेस लोकतान्त्रिक अभ्यास भएको पार्टी हो । कांग्रेसले साह्रै आलोकाचोपन देखाउनुहँुदैन ।

प्रतिपक्षी दलका नेताले बेलायतकी महारानीजस्तो भन्नुभयो, त्यस्तो नकारात्मक टिप्पणी गर्नु हुँदैन, बेलायत मित्रराष्ट्र हो ।”

  • नीति तथा कार्यक्रमले सपनामात्र होइन संकल्प र अठोट पनि लिएको छ ।
  • नीति कार्यक्रम लामो हुन सक्छ, सविस्तार हुन सक्छ । तर, सबै पनि छ । केही पनि छैन भनेको के ?
  • ‘मेरो सरकार’ जानीबुझीकन राखेको हो ।
  • संविधान जुनसुकै मौसममा पनि गीत गाउने विषय होइन । यो त पब्लिक कन्जम्सनका लागि जस्तो भयो ।
  • ३८ क्विन्टल सुन तस्करी भएको रहेछ । त्यो सुन कहाँ गयो । पहिलेको सरकारले थाहा पाउला । अहिलेको सरकार आएपछि रोकियो ।
  • वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडिया भ्रमणको जानकारी ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति केही पनि हैन भन्ने हैन, राज्य व्यवस्थाको सर्वोच्च सम्मानित र अभिभावकीय संस्था भएको स्मरण गराए । प्रधानमन्त्रीले प्रतिपक्षीलाई मेरो सरकार भन्ने अप्ठेरो भएको उल्लेख गर्दै भने, “अब हेर्नुस् न प्रतिपक्षलाई पनि कति फाइदा हुने बजेट आउँछ ।”

 

प्रधानमन्त्री ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम दूरगामी लक्ष्यसहित ल्याइएको बताएका छन् । एक वर्षको नीति कार्यक्रम भए पनि दूरगामी कार्यक्रम राखेर ल्याइएको प्रधानमन्त्रीको भनाइ छ ।


“आगामी एक वर्ष, चार, पाँच र २५ वर्षसम्मको दूरगामी लक्ष्य राखेर ल्याइएको हो,” वार्षिक नीति तथा कार्यक्रममा छलफलमा उठेका प्र्रश्नहरुको प्रतिनिधिसभामा आज जवाफ दिंदै प्रधानमन्त्रीले भने, “अग्रगामी सोचसहित ल्याइएको हो ।”


प्रधानमन्त्रीले नीति तथा कार्यक्रमले सपनामात्र होइन संकल्प र अठोट पनि लिएको उल्लेख समेत गरे । “कतिपय साथीहरुलाई सपना रातिमात्रै देखिने भन्ने पनि लागेको छ, यहाँ सपनाको कुरा गरेको राति देखिने होइन, यहाँ देश बनाउने सपना हो,” प्रधानमन्त्री ओलीले भने “सहिदको सपना पूरा गर्ने भनेको निदाएर घुरेर देखिने सपनामात्र होइन ।”


प्रधानमन्त्रीले लोकतन्त्रका संस्थाहरु, जनप्रतिनिधिको सम्मान बढाउने र अग्रगामी सोचसहित नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गरे । बहुमत आफँैमा स्थिरता र स्थायित्व नहुने बताउँदै ओलीले योजना र नीतिले त्यसलाई स्थायित्व दिलाउने उल्लेख गरे ।


नीति तथा कार्यक्रममा विपक्षी दलले असावधानीवस शब्द प्रयोग गरेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले भने “आलोचनाको कुनै ठाउँ रहेनछ, सुन्दर निबन्ध जस्तो छ भन्नुभयो एक मित्रले, यसमा धेरै केही भन्नु छैन नीति कार्यक्रम आलोचना रहेनछ, त्यही भएर निबन्ध भनेर टुंगो लगाइदिनुभएछ ।

 

प्रधानमन्त्री ओलीले संविधान संशोधनलाई सार्वजनिक खपतको विषय नबुझाउन आग्रह गरे । “सुशील कोइराला प्रधानमन्त्री भएकाबेला यति संशोधन भए पुग्छ भनिएको थियो,” संविधान असंशोधननीय, अपरिवर्तनीय हुन नसक्ने बताउँदै ओलीले भने,“हामीले बनाएको संविधान हो ।संविधान जुनसुकै मौसममा पनि गीत गाउने विषय होइन । यो त पब्लिक कन्जम्सनका लागि जस्तो भयो । त्यसो नगरौं ।”


प्रधानमन्त्रीले अहिलेकै सरकारले हडपिएका सार्वजनिक जमिनलाई सरकार मातहत ल्याएको स्मरण गराउँदै भने, “बालुवाटार अहिलेको सरकार बनेर मासेको हो र ?अहिलेको सरकारले खुलामञ्च कब्जा गरेको हो र ? बरु अहिलेको सरकारले ल्याएको हो । अहिले त छानबिन हुँदैछ, खोजी हुँदैछ, अहिले हो वाइडबडी घोटाला भएको, पहिले भएकाहरुको छानबिन हुँदैछ ।”


प्रधानमन्त्रीले वर्तमान सरकारले नै सुन तस्करीको अन्त्य गरेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने “कतिपय माननीयहरुले सुन तस्करी के भयो भन्नुभयो । बन्द भयो । उनीहरु जेलमा छन् । प्वाल बन्द गरियो । ३८ क्विन्टल सुन तस्करी भएको रहेछ । त्यो सुन कहाँ गयो । पहिलेको सरकारले थाहा पाउला । अहिलेको सरकार आएपछि रोकियो ।”


प्रधानमन्त्रीले ०४८ मा शिक्षक र कर्मचारीलाई यसरी पूर्वाग्रहपूर्णरुपमा लखेटिएको स्मरण गर्दै भने,‘त्यसको विरोध ग¥यौं अब यस्ता अभ्यासहरु हुँदैनन् ।” गत वर्षबाट नीति कार्यक्रम सर्वसम्मत पारित गर्ने परम्परा बसेको बताउँदै यो झन् परिमार्जित आएकोले सर्वसम्मत पारित गर्न प्रधानमन्त्रीले अपिल समेत गरे ।

भ्रमणबारे जानकारी :

प्रधानमन्त्री ओलीले वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडिया भ्रमणमा जान लागेको जानकारी दिंदै त्यसबाट पर्यटन र विविध पक्षमा फाइदा हुने विश्वास व्यक्त गरे ।

 

२०७६ बैशाख २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्