Birendranagar Municipality

आउदो बजेटबाट विकासको गियर बढ्छ : प्रधानमन्त्री ओली

सेरोफेरो
आउदो बजेटबाट विकासको गियर बढ्छ : प्रधानमन्त्री ओली

६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन् ।


धादिङको गल्छीमा आज मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।


“जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रष्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ ” प्रधानमन्त्री ओलीले भने “देश विकासको गति दुई गियरमा छ भने तीनमा पुर्‍याउछ । तीनमा छ भने चारमा पुर्‍याउछ ।”


प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथर देखि अन्तिम विन्दु बैतडीसम्म सुचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताएका छन् । “हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौं ” प्रधानमन्त्री ओलीले भने “सुचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ । ”


प्रधानमन्त्री ओलीले सरकारले विकास, शिक्षा ,स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको सो अवसरमा बताए । “सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ” प्रधानमन्त्री ओलीको भनाइ छ ।


प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबै भन्दा बढी आर्थिक बृद्धिदर यसै बर्ष भएको बताए । सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “हामी केही बर्ष भित्रै नेपाललाई तिव्र विकास हुने देशमा रुपान्तरण गर्दैछौं ” प्रधानमन्त्री ओलीले भने ।

२०७६ जेठ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्