१४ जेठ । मानवअधिकार र कानूनी शिक्षा विषयक दुई दिने तालिम मंगलबार वीरेन्द्रनगर ११ पिपिरामा सम्पन्न भएको छ । मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेतको आयोजना र वीरेन्द्रनगर नगरपालिका ११ नं. वडा कार्यालयको सहयोग र समन्वयमा उक्त तालिम सम्पन्न भएको हो ।
वडा नम्वर ११ का महिला तथा किशोर किशोरीहरुको सहभागीता रहेको तालिममा २०७५ भाद्र १ देखि लागु भएको मुलुकी फौजदारी संहिता २०७४ र मुलुकी देवानी संहिता २०७४ का प्रावधानहरु, घरेलु हिंसा, बालअधिकार, मानवअधिकारका र लागुऔषध दुव्र्यसन विषयमा प्रशिक्षण गराइएको थियो ।
कार्यक्रममा बोल्दै शिवशक्ति सामुदायीक वनका अध्यक्ष तथा सहभागी मिना आचार्यले कानूनी प्रावधानका वारेमा महिलाहरुले जानकारी पाएका र समस्यामा परेमा कानुनी उपचारका बारे समेत सचेत रहने विश्वास व्यक्त गरिन् ।
महिलाहरुले भर्खरमात्र जारी भएको मुलुकी संहिताका वारेमा पहिलो पटक जानकारी पाएको समेत आचार्यले बताईन् । कार्यक्रमको सहभागी भुमीसरा चुनाराले यो तालिमबाट घरेलु हिंसा र कानूनी व्यवस्थाबारे जानकारी हासिल गरेको बताईन् । घर परिवारमा हुने विभिन्न हिंसाबारे धेरै महिलाहरुलाई जानकारी थिएन यो तालिमबाट महिलाहरुले कानूनी प्रावधान वारे जानकारी पाउन सफल भएका छन् उनले भनिन् ।
तालिमको पहिलो दिन तालिमको उद्घाटन गर्दे वडा सदस्य अर्जुन सुवेदीले तालिमबाट सहभागीहरुको अधिकार र कर्तव्य वारे जानकार हुने विश्वास गरे ।
तालिम दोस्रो दिनको समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष नन्दलाल शर्माले सिकेका कुरालाई जिवनमा प्रयोग गर्न आग्रह गरे । उनले भने 'नयाँ कानूनी प्रावधानले समाजका विभिन्न पक्षलाई सम्वोधन गरेको र यस वारे सवै नागरिकहरुले जानकारी राख्न आवश्यक छ ।' वडा अध्यक्ष शर्माले सवै वडा बासीहरुले अरुको सम्मान गर्दे हिंसा र अपराध रहित वडा निर्माणमा सहयोग पर्याउन अनुरोध गरे ।
कार्यक्रममा बोल्दै हुरेकका अध्यक्ष गणेश ओलीले कानूनको अज्ञानता क्षम्य नहुने भन्दै कानुनी राज्य स्थापना गर्न समुदाय स्तरबाटै लाग्न सवैलाई आग्रह गरे । उनले भने कानूनले गर्नु भनेको कुरा गरे र नगर्नु भनेको कुरा नगरे समाजमा अपराध नहुने भन्दै सवैले कानूनको पालन गर्न अनुरोध गरे । तालिममा ११ नं वडा कार्यालयका ४८ जनाको सहभागीता रहेको रहेको थियो ।
तालिमलाई हुरेक नेपालका अध्यक्ष अधिवक्ता गणेश वली र पत्रकार सिता वलीले सहजिकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस्