२५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणका लागि आज स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली युरोपका तीन राष्ट्रको भ्रमणका लागि भ्रमण दल टोली सहित आज साँझ ७:१५ बजे जेनेभा प्रस्थान गरेका हुन् ।
भ्रमणमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, सांसद विन्दा पाण्डे, परराष्ट्र र श्रम सचिव लगायत सहभागी छन् ।
युरोपको भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले जेठ २७ गते जनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीको अवसरमा चौथो वक्ताकारुपमा सम्बोधन गर्नेछन् । यसैगरी जेठ २७ साँझदेखि नै प्रधानमन्त्री ओली बेलायतको भ्रमणमा निस्कने कार्यतालिका रहेको जनाइएको छ ।
प्रधानमन्त्रीलाई अन्तराष्ट्रिय बिमानस्थलको अति बिशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री इश्वर पोखरेलसहितका मन्त्रीहरु तथा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले बिदाई गरेका हुन् ।
प्रधानमन्त्री ओली आगामी असार १ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।
प्रतिकृया दिनुहोस्