Birendranagar Municipality

रुकुम पश्चिमका सबै पालिका छुवाछुतमुक्त घोषणा

मनिषा केसी/रुकुम (पश्चिम)
रुकुम पश्चिमका सबै पालिका छुवाछुतमुक्त घोषणा

२६, जेठ । रुकुम पश्चिमका सबै स्थानीय तहहरु जातिय छुवाछुतमुक्त तथा सामाजिक सद्भावयुक्त घोषणा भएका छन् । आइतबार मुसिकोट नगरपालिकालाई जातिय छुवाछुतमुक्त नगरपालिका घोषणा गरेसँगै सबै तहहरु छुवाछुतमुक्त तथा सामाजिक सद्भावयुक्त भएका हुन् । यसअघि अन्य दुई नगरपालिका र तीन गाउँपालिकालाई जातिय छुवाछुतमुक्त स्थानीय तह घोषणा गरि सकिएको छ ।


जातिय छुवाछुत सम्बन्धी वडा तहसम्म विभिन्न सचेतनामूलक कार्यक्रम, अन्तक्र्रिया र प्रतिवद्धता समेत गराएर यसका लागि आवश्यक मापदण्ड पूरा गरी छुवाछुतमुक्त घोषणा गरिएको मुसिकोट नगरपालिका उपप्रमुख प्रेमकुमारी सुनारले बताइन । आइतबार भएको औपचारिक कार्यक्रम मार्फत नगरपालिकालाई जातिय छुवाछुतमुक्त सँगै पूर्ण खोपयुक्त नगरपालिका समेत घोषणा गरिएको छ ।

 

त्यस्तै कर्णाली प्रदेशभरी छाउपडीमुक्त बनाउने अभियानलाई साथ दिन मुसिकोट नगरपालिकामा छाउपडी प्रथा नभएको समेत एकैसाथ घोषणा गरिएको छ । जातिय छुवाछुतको सन्दर्भमा २०२० सालमा नै गरिएको नीतिगत व्यवस्थालाई अहिले कार्यान्वयन गरिएको र सबैले यसको पालना गर्नुपर्ने नगर उपप्रमुख केसीले बताइन ।

 

सबैको सहयोगमा छुवाछुतमुक्त लगायतका कूरीतिको अन्त्य गर्न सफल भएको भन्दै यसको पूर्ण पालनका लागि समेत सहयोग चाहिनेमा नगरप्रमुख देवीलाल गौतमले जोड दिए ।


घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्णाली प्रदेशसभाका सदस्य एवं सामाजिक विकास समितिका सभापति राजु नेपालीले रुकुम पश्चिमका सबै पालिकाहरु जातिय छुवाछुतमुक्त भैसकेकोले अब जिल्ला तहमा समेत कार्यक्रम गर्न आग्रह गर्दै यसले प्रदेशभरी नै सकारात्मक सन्देश दिएको बताइन ।

 

प्रदेशमा भएका सबैखाले कूरीति र कुसंस्कारको अन्त्य गर्दै प्रदेशलाई समृद्धिको यात्रामा अगाडि बढाउनुपर्नेमा उनले जोड दिइन । त्यस्तै जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख समेत रहेका नेकपाका केन्द्रिय सदस्य राजकुमार शर्माले विगतदेखि नै आफूहरु उत्पीडित जाती समुदायको पक्षमा लड्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि त्यस्तका वर्गको अधिकारका लागि सदैव लाग्ने बताए ।

 

कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्यहरु रातो कामी र दानसिंह परियार लगायत, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

२०७६ जेठ २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्