Birendranagar Municipality

मन्त्री खत्री बर्खास्त

सेरोफेरो
मन्त्री खत्री बर्खास्त

३० साउन । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदबाट बर्खास्त भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फेसबुकमार्फत मन्त्री खत्रीलाई पदबाट हटाइएको जानकारी गराएका हुन्।

 

उनको फेसबुक पेजमा लेखिएको छ, “माननीय मुख्यमन्त्रीज्यूले भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरी उक्त मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने निर्णय गर्नु भएको छ । उक्त निर्णय आजै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी दिनुभएको छ ।”

 

यसअघि उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खत्रीलाई पक्राउ गर्न आदेश दिएको थियो। मन्त्री खत्रीसहित पाँचजनाले एक करोड १० लाख ८० हजार रकमको फर्जी बैंक ग्यारेन्टी गरेको भन्दै दायर रिटमा न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानासहित उच्च अदालत पाटनको वाणिज्य इजलासले तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन आदेश दिएका थिए।

 

यता, कृषि विकास बैंक भोजपुरबाट जारी गरेको फर्जी बैंक ग्यारेन्टी बनाएर उनीहरूले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको अदालतले ठहर गरेको थियो।

 

मन्त्री खत्रीले आफ्नो निर्माण कम्पनी मार्फत ५५/५५ लाख रुपैयाँका दुई वटा ठेक्का समेत साक्षी बसेर पारेका थिए। उनी पूर्व एमालेका सुर्खेत १ (ख) बाट निर्वाचित सांसद हुन।

२०७६ साउन ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्