Birendranagar Municipality

सुन्दर नेपाल संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न

सेरोफेरो/सुर्खेत
सुन्दर नेपाल संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न

६ भदौ । सुन्दर नेपाल संस्थाको २३ औं वार्षिक साधारण सभा शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । २०५३ सालमा स्थापना भएको संस्थाले विभिन्न क्षेत्रमा काम गरिरहेको छ । संस्थाको साधारण सभामा बोल्दै कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश सरकार सामाजिक संघ-संस्थासँग विकास निर्माणका गतिविधिमा सहकार्य गरेर अघि बढ्ने बताएका छन्।


कार्यक्रमका प्रमुख अतिथि सभामुख शाहीले आधुनिक राज्यमा प्रत्येक व्यक्तिका आवश्यक इच्छाहरुलाई राज्यले पूरा गर्न सकेमात्र राज्य सफल हुने धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका सचिब हीरामणि पौड्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सुन्दर नेपाल संस्थाले आव ०७५÷७६ मा कर्णाली प्रदेश र काठमाडौ सहित ११ वटा जिल्लामा १५ वटा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

 

संस्थाले आव २०७५/७६ मा कृषि, स्वास्थ्य, जिविकोपार्जन, सुशासन, खानेपानी तथा सरसफाई, नविकरणीय ऊर्जा, न्यायमा पहुँच लगायतका १५ वटा कार्यक्रहरु सञ्चालन गरेको छ । सचिब पौड्यालले सुन्दर नेपाल संस्थाले सञ्चालन गरेका कार्यक्रमहरुबाट आव २०७५/७६ मा २९ हजार ६ सय १५ घरधुरी लाभान्वित भएको जानकारी समेत दिए ।

 

संस्थाका कोषाध्यक्ष मायाकुमारी सापकोटाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ८ करोड ८३ लाख ४७ हजार ३ सय २६ रुपैयाँ आम्दानी र ८ करोड ८३ लाख ३५ हजार ए सय ५ रुपैयाँ खर्च भएको जानकारी दिईन्। साथै कोषाध्यक्ष सापकोटाले आगामी आवका लागि ८ करोड ८५ लाख ४९ हजार ७० रुपैयाँकोे अनुमानित आम्दानी प्रस्तुत समेत प्रस्तुत गरिन् ।

 

संस्थाले आव २०७५/७६ मा उत्कृष्ट काम गर्ने संस्थामा कार्यरत कर्मचारी द्वय गगन खड्का र तुलसा एलजीलाई सम्मानित गरेको छ । त्यसै गरी लाभान्वित समुदायबाट किमसरा खड्कालाई सम्मानित गरेको छ ।

 

नेदरल्याड विकास नियोग नेपालका सल्लाहकार लेखविक्रम शाहले संस्थामा क्षमता विकास कार्यविधि बनाउँदा राम्रो हुने बताए । जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसीले गैर सरकारी संस्थाहरुलाई कसरी बुझ्ने भन्ने बारेमा सरकारले स्पष्ट धारणा बनाउनुपर्नेमा जोड दिए ।


सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले आफ्नो गाउँपालिका सधै गैर सरकारी संस्थासँग सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।

संस्थाका अध्यक्ष हेमप्रकाश भुषालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाको कार्यकारी निर्देशक भूपेन्द्र कंडेलले गरेका थिए ।

२०७६ भदौ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्