१२ भदौ । प्रदेश सभाले गरेका राम्रा कामहरुको प्रसंशा पनि गर्न कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले पत्रकारहरुलाई आग्रह गरेका छन् । 'पत्रकारहरुले सधैं गुनासो मात्रै होइन राम्रा कामको राम्रै सन्देश जाने गरी समाचार तयार समेत गर्नुपर्छ', उनले भने ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बिहिबार सम्पन्न खुला संसद र खुला सरकारसम्बन्धी एक छलफलमा सभामुख शाहीले यस्तो बताएका हुन् । प्रदेश सरकारका तर्फबाट सरकारका अर्थमन्त्रीले संसदमा पेश गरेको बजेटमाथि जनचाहना बमोजिम छलफल गरी संशोधनसहित पारित गर्नु ऐतिहासिक कुरा भएको उनले बताए । उनले भने, 'हामीले बृहत्तर जनताको हितका खातिर बजेट संशोधन गरी पारित गर्यौं तर मिडियाले भने सांसदहरुले बाँडे १०/१० करोड भन्ने शिर्षकमा समाचार लेखे ।'
सभामुख शाहीले संसदमा बजेट संशोधनको विषय अत्यन्तै महत्वपूर्ण भएको र त्यसको मर्म पत्रकारहरुले बुझ्न नसकेको बताए । सोही सन्दर्भमा फ्रिडम फोरमका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक तारानाथ दाहालले कर्णाली प्रदेश सभाको उक्त कार्य ऐतिहासिक सफलता भएको टिप्पणी गरे ।
उनले भने, 'परम्परागत संसदीय अभ्यासमा बजेट हुबहु पास हुनुपर्छ भन्ने मान्यता छ, जुन गलत हो । तत्कालिन गिरिजाप्रसाद कोइराला सरकारले संसदबाट बजेट पास हुने छाँटकाँट नदेखेरै संसद विघटन समेत गरिदिए । त्यसको क्षति हामीले हालसम्म व्यहोर्नुपरेको छ ।'
युएनडिपिको सहयोग र फ्रिडम फोरमको आयोजनामा गरिएको उक्त छलफलमा कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती, सांसदहरु, कर्णाली प्रदेशका प्रमुख सचिव केवल प्रसाद भण्डारी, संसद सचिव, पत्रकार लगायत नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति थियो । उनीहरुले नेपालमा खुला संसद र खुला सरकारका लागि धेरै काम भएको धारणा व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस्