१४ भदौ । सुर्खेतको कटकुवामा २४ वटा गाईगाेरु मृत अवस्थामा भेटिएको घटनामा गृह मन्त्रालयले चासो देखाएको छ।
मन्त्रालयले घटनाको अनुसन्धानमा थप सहयोग पुर्याउन, गाईहरुको ओसारपसार, अस्वभाविक मृत्यु तथा घाईते भएको सम्बन्धमा सत्यतथ्य बुझी कुन व्यक्ति, पदाधिकारी एवं निकायको के–कस्तो संलग्नता रहेको छ भन्दै दोषीलाई कानुन बमोजिम कारबाहीको सिफारिस गर्ने कार्यादेशसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानबिन समिति गठन गरेको छ।
चार सदस्यीय छानबिन समितिको संयोजक गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकलाई बनाइएको छ भने सुरक्षा निकायका प्रतिनिधि पनि समावेश गरिएको छ।
मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीद्वारा शनिबार जारी एक विज्ञप्तिमा भनिएको छ , ‘गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति नदिइने कुरामासमेत गृह मन्त्रालय प्रतिवद्ध रहेको व्यहोरासमेत जानकारीको लागि अनुरोध छ।’
यसअघि घटनास्थलमा गाईगोरु छाडेर फर्कँदै गरेका पाँच वटा ट्रक र ट्रक चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यलय सुर्खेतमा राखिएको थियो।
ट्रक चालकहरुले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–२१ स्थित काञ्जिहाउसबाट ती गाईगोरु लगेर छोडेको प्रारम्भिक बयान दिएका थिए।
गाईगोरु मृत अवस्थामा भेटिएको घटनालाई लिएर सामाजिक सञ्जाल र राजनितिक वृतमा अनेकौँ अड्कलबाजी सुरु भएको छ।
शुक्रबार बिहान उक्त स्थानमा २४ वटा गाईगाेरु मृत अवस्थामा फेला पर्नुका साथै केही गाईहरु घाईते अवस्थामा फेला परेपछि त्यो अवस्था र्सिजना गर्ने संस्था र व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग समेत उठेको छ।
प्रजनन् क्षमता घटिसकेका गाईहरु र जिर्ण शरीर भएका खेतिपाति गर्न नसक्ने गोरुहरुलाई बिहिबार नेपालगञ्ज उपमहानगरपालिकाले ट्रकमा हालेर दैलेखको शिरस्थान पठाएको भनिएका २९१ गाईगोरु मध्ये ठूलो संख्यामा गाईगोरु मृत भेटिनु र घाईते हुनुलाई हिन्दुहरुको आस्थामाथि आघात पुगेको टिप्पणी गरिएको छ।
सर्वसाधारण र बुद्धिजिवीहरुले सामाजिक सञ्जालमा व्यापक टिप्पणी गरेका छन् भने खासगरी प्रतिपक्षीदलहरुले गम्भिर प्रश्न उठाएका छन्।
नेपाली कांग्रसले राष्ट्रिय जनावर गाईको हत्या गर्नु जघन्य अपराध भएको ठहर गर्दै सत्यतथ्यको छानवीनकाे माग गर्दै दोषीलाई कारबाहीकाे माग गरेको छ।
यस्तै गाईलाई नै चुनावचिन्ह बनाएको राप्रपाले उक्त घटना शंकास्पद र निन्दनीय भएको ठहर गर्दै दोषीलाई कडा कार्वाही गर्न माग गरेको छ।
प्रतिकृया दिनुहोस्