२२ भदौ । राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी दुईखाले धारणा छन् । पहिलो- यसको प्रयोग खुकुलो हुनुपर्छ । यस्तो मान्यता राख्ने देशमा हरेक नागरिकले घरमा झण्डा फहराउन सक्ने कानुनी प्रावधान छ । तर, अर्कोथरी मान्यता भने यसको ठीक विपरित छ । जसमा झण्डाको सर्वसुलभ प्रयोगमा रोक लगाईएको हुन्छ । यद्धपी राष्ट्रिय झण्डाको अपमान भने कही कतै स्वीकार्य छैन ।
नेपालमा पनि राष्ट्रिय झण्डाको प्रयोगमा केही कडा नियम छन् । जसले गर्दा सर्वसाधारणलाई सहजै झण्डा फहराउन सक्ने अधिकार छैन । त्यसैले होला उनीहरुले विभिन्न राष्ट्रिय आन्दोलनहरुमा झण्डा बोकेर राष्ट्रियता प्रदर्शन गरिरहेका हुन्छन् ।
तर हालै नेपाल सरकारले झण्डाको प्रयोगलाई राष्ट्रियतासंग जोडेर हेरेको छ । संविधान जारी भएको दिन असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउन तयारी थालेको छ । संविधान दिवस भव्य रुपमा मनाउन सरकारले सरकारी तथा गैरसरकारी संघसंस्थाको समन्वयमा विभिन्न कार्यक्रम तय गरेको छ ।
जसका लागि गृह मन्त्रालयले उक्त अवसरमा लगाउने टिशर्टको नमूना सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको नमूना टिशर्टमा मुटुमाथि राष्ट्रिय झण्डा रहेको छ ।
राष्ट्रिय झण्डाको प्रयोग बढाउने बताएको सरकारले टिशर्टमा पनि राष्ट्रिय झण्डा छाप्न मिल्ने भन्दै विभिन्न साइजका टिशर्टका नमूना सार्वजनिक गरेको हो। टिशर्टको तीन वटा प्रकारमा कल्दर र बाहुलामा निलो रङ र अन्यत्र सेतो रङ भएका छन् भने एउटामा भने सबैतिर सेतो रङको मात्रै छ।
गृह मन्त्रालयले वेवसाइटमा राखेको सूचनाअनुसार राष्ट्रिय झण्डा अंकित टिशर्ट संविधान दिवस, राष्ट्रिय दिवसमा प्रयोग गरिन्छ । यस्तै गृहले औपचारिक कार्यक्रममा राख्नका लागि राष्ट्रिय झण्डाका पाँच प्रकारका साइज पनि सार्वजनिक गरेको छ।
प्रतिकृया दिनुहोस्