Birendranagar Municipality

बाल्टीको पानीमा डुङ्गा चलाउँनेहरु भ्रमपूर्ण प्रचार गर्दै छन्, सरकार जहाज चलाउछ : प्रम

सेरोफेरो
बाल्टीको पानीमा डुङ्गा चलाउँनेहरु भ्रमपूर्ण प्रचार गर्दै छन्, सरकार जहाज चलाउछ : प्रम

१२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पानीमा पानी जहाज चल्छ भन्नेपनि थाहा नपाउँने विचरा बिरोधीहरु सरकारको कुप्रचारमा लागेको बताउनुभयो । उहाँले पानीमा पानी जहाज चल्छ भनेर आफुले भन्दा बाल्टीमा पानी राखेर डुङ्गा चलाउँनेहरु सरकारबारे भ्रमपूर्ण कुराहरु प्रचार गर्न तल्लिन रहेको बताउनुभयो । उहाँले सरकार र पार्टीबारे विपक्षी दल काँग्रेससहित केही विरोधी शक्तिहरुले अनावश्यक भ्रम फैलाइरहेको आरोप लगाउनु भएको हो ।

 

सामाजिक सञ्जाल लगायतका सम्पुर्ण शक्तिहरु लगाएर सरकार र पार्टीलाई बदनाम बनाउने खेल भइरहको उहाँको आरोप छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । सरकारले गरेको राम्रो काममा पनि विरोध गर्ने कार्य भइरहको उहाँले बताउनुभयो ।

 

विगतमा आएका सरकारले गरेका गल्तीहरु पनि अहिलेको सरकारको टाउकोमाथि थुर्पान खोजिएको उहाँको आरोप छ । पानीजहाज चल्छ भन्दा मजाक गर्नेहरुलाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘पानीमा जहाज चल्छ भने विपक्षीलाई थाहा छैन सायद । कागजको डुंगा बनाएर बाल्टीमा चलाएर मजाक उडाइयो । तर अहिले युवाहरू पानीमा जहाज चलाएका छन् ।’ नारायणीमा समेत पानी जहाजको परिक्षण युवाहरुले गरिसकेको र कोशी यसको अभ्यास पहिला नै भएको बताउनु भयो ।

 

सरकारले नयाँ काण्डहरु जन्माएको नभई विगतका सरकारले गरेका गल्तीहरु बाहिर ल्याएको उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एक ढिक्का भएको बताउनु भयो । प्रचण्डले विभिन्न क्रान्ती र जनदान्दोलनको बलबाट प्राप्त उपलब्धीको रक्ष गर्दे समाजबाद तर्फ देश अगाडी बढेको बताउनु भयो । प्रचण्डले आजभोली आईटीको दुरुपयोग गरी सरकारको विरोध गरेको समेत बताउनु भयो ।

 

उक्त कार्यक्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव बिष्णु पौडेल, प्रेस संगठन इन्चार्ज एवं केन्द्रीय सदस्य राजेन्द्र गौतम, सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटा, केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा लगायत उपस्थिति थियो ।

२०७६ पुस १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्