११ माघ । सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिना सर्वोच्च अदालतको संवैधानिक विज्ञका रुपमा नियुक्त हुनु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतको संवैधानिक इजलासको विज्ञको रुपमा डा. तिमिल्सिनालाई नियुक्त गर्नुभएको हो ।
संवैधानिक इजलास कार्य सञ्चालन नियमावलीमा संवैधानिक इजलासमा विज्ञ नियुक्तिको व्यवस्था रहेको छ। नियमावलीको उक्त व्यवस्था अनुसार प्रधानन्यायाधीश राणाले आवश्यक अध्ययन अनुसन्धान राय र परामर्शका लागि तिमिल्सिनालाई नियुक्त गर्नुभएको हो।
नेपालको संविधान २०७२ ले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठनको व्यवस्था गरेको छ। संविधान र कानुनविद् मध्येबाट डा. तिमिल्सिना पहिलोपल्ट संवैधानिक इजलास विज्ञको रुपमा नियुक्त हुनुभएको हो ।
डा. तिमिल्सिनाले भन्नुभयो 'संबैधानिक इजालसको क्षेत्राधिकार भित्र पर्ने विषयमा अध्ययन अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्वेवारी मेरो रहन्छ र सो कार्य म जिम्मेवार पूर्वक बहन गर्नेछु '। उहाँले थप्नुभयो 'मैले अदालतमा काम गरेको अनुभव, बुद्धि, विवेक र क्षमताले भ्याएसम्म संवैधानिक इजलासलाई सक्दो सहयोग पुर्याउने छु’ ।
डा. तिमिल्सिनाले आफूलाई माघ १ गतेबाट लागू हुनेगरी नियुक्त गरिएको जानकारी दिनुभयो। तिमिल्सिना नेशनल ल कलेजका संस्थापक सञ्चालकसमेत हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस्