Birendranagar Municipality

दिनभरी जल्यो सुर्खेत, साँझदेखि कर्फ्यू

सेरोफेरो
दिनभरी जल्यो सुर्खेत, साँझदेखि कर्फ्यू

१४ माघ । टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर दिनभर तनावग्रस्त बन्यो । मंगलबार बिहान करीब ८ बजे एरीचोक नजिक हाइवेमा टिप्परको ठक्करबाट २० बर्षीय केशर बहादुर सिंहको विभत्स मृत्यु भएको थियो ।

 

उक्त घटनाको विरोधमा बिहानैदेखि सडक अवरुद्ध पारिएको थियो भने बजार समेत बन्द भयो । प्रदर्शनकारीले वीरेन्द्रनगरका विभिन्न स्थानमा तोडफोड तथा आगजनी गरेका थिए ।

4

आन्दोलन उग्र बनेपछि प्रहरीले केही राउण्ड गोली समेत चलाएको छ भने जिल्ला प्रशासन कार्यालय सुर्खेतले साँझदेखि कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि लगाइएको हो ।

 

प्रदर्शनले उग्र रुप लिएपछि वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बांगेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यु लगाइएको प्रशासन कार्यालयले जनाएको छ ।

3

दुर्घटनाबाट मृत्यु हुने सिंह कालीकोट महावै गाउँपालिका–३ सिमखेतका बासिन्दा हुन् । उनको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो । टिप्पर चालक राजकुमार बोहरालाई प्रहरी नियन्त्रणमा लिइएको छ भने शवलाई अस्पतालमा राखिएको छ।


स्थानीय प्रशासनले घरपरिवारसँग सहमति गरेर शव उठाउन खोज्दा भीडले नदिएपछि प्रहरीले बल प्रयोग गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए ।प्रजिअ अधिकारीका अनुसार भीडले दुर्घटनालाई अतिरञ्जित गर्ने प्रयास गरेको, प्रहरी बीट भत्काउने, सीसी क्यामेरा फुटाउने तथा आगजनी गरेको थियो ।

 

दोहोरो झडपमा परी २५ जना प्रहरी तथा केही प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भीड नियन्त्रण गर्न ३२ राउण्ड हवाई फायर गरिएको थियो । बाँया खुट्टामा चोट लागेको कालिकोट सान्नीत्रिवेणी गाउँपालिका २ का २३ बर्षीय धीरबहादुर बुढाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । 2

२०७६ माघ १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्