४ फागुन । वीरेन्द्रनगर नगरपालिकालाई देशको नमुना नगरको रुपमा विकास गर्न लागिपरेको उप प्रमुख मोहनमाया ढकालले बताउनु भएको छ । 'जनताले हामीसंग गरेका अपेक्षा र हाम्रो योजनालाई कसरी अगाडी बढाउन सकिन्छ भन्नेमा हामी चिन्तित छौं' ढकालले बताउनु भयो।
संघियताको मर्मअनुसार हामीले यस नगरपालिकाका १६ वडाबाट सेवा प्रवाह गरिरहेका छौं उहाँले भन्नुभयो । स्वास्थ्य चौकी नभएका वडाहरुमा शहरी स्वास्थ्य चौकी संचालन गरी सेवा प्रवाह समेत गरेको उहाँले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा ९२ प्रतिशत बजेट खर्च भएकोमा यो वर्षको जेठ सम्म शतप्रतिशत बजेट कार्यान्वयन हुने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । वीरेन्द्रनगरमा रहेको जिर्ण सडकहरुको क्रमिक रुपमा निर्माण भईरहेको र यो निकट समयमा सम्पन्न हुने उहाँले बताउनु भयो ।
जनताले छिटो विकासको अपेक्षा गर्नु स्वभाविक रहेको र विकासको काम सम्पन्न गर्न विभिन्न प्रकृया पुरा गर्दा समय लाग्ने उहाँले बताउनु भयो । नगरका विभिन्न सडकको टेन्डर प्रकृया भएको र कुनै निर्माण भईरहेकोले यो बन्न धेरै समय नलाग्ने उप प्रमुखले जानकारी दिनुभयो।
नगरपालिकाले विकास मात्र नभएर सामाजिक कामहरु समेत गरिहरेको उहाँले बताउनु भयो । नगरपालिकाले महिला स्वरोजगार कार्यक्रम, बालबिबाह न्युनिकरण, महिला मैत्री नगर जस्ता विभिन्न सामाजिक कार्यहरुको थालनी गरेको उप मेयर ढकालले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्