Birendranagar Municipality

वुहानबाट १७५ नेपालीलाई नेपाल ल्याइयो, सबैलाई खरिपाटी पुर्‍याइयो

सेरोफेरो
वुहानबाट १७५ नेपालीलाई नेपाल ल्याइयो, सबैलाई खरिपाटी पुर्‍याइयो

४ फागुन । चिनको वुहानमा रहेका १७५ जना नेपालीहरुलाई आईतबार विहान ४ बजे नेपाल एयरलाईन्सबाट नेपाल ल्याइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको हो ।


वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो । र, १७० विद्यार्थीसहित १७५ जनालाई बिहान ३स् ३८ बजे त्रिभुवन विमानस्थल ल्याइएको छ ।

 

जम्मा १ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिएपनि ६ जना ज्वरोका कारण उहान विमानस्थलमै रोकिएका छन् । ४ जना भने स्वइच्छाले नेपाल नआएको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि सीधै क्वारेन्टाइनमा लगिएको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उदगमस्थलबाट ल्याइएकाले उनीहरु सबैलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने भएको छ ।

 

उद्धार गरिएकाहरुलाई विमानस्थलबाट खरिपाटीसम्म पुर्‍याउन पाँच वटा बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो । ती गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेको थियो । खरिपाटीमा राष्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले उनीहरुको नमूना परीक्षण गर्नेछन् । नमूना परीक्षण गर्दा कुनै शंका लागेमा उनीहरुलाई बिभिन्न अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने अधिकारीहरुले बताएका छन् ।

 

वुहानबाट नेपाल फर्किएकाहरुमा १७० जना विद्यार्थी, एक जना कामदार, दुई जना पर्यटक तथा दुई जना नाबालक रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । ६ जनामा भने ज्वरो देखिएको भन्दै चीनले वुहान विमानस्थलमै रोकेको छ । तीन जना भने नेपाल फर्कन इच्छा नदेखाएर वुहानमै बसेका दूतावासले जनाएको छ ।

साभार:अनलाईनखबरबाट 

तस्विर रासस

२०७६ फागुन ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्