Birendranagar Municipality

एमयुलाई जनताको विश्वविद्यालय बनाउँछु : उपकुलपति सिंह

सेरोफेरो/सुर्खेत
एमयुलाई जनताको विश्वविद्यालय बनाउँछु : उपकुलपति सिंह

२९ फागुन । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयलाई जनताको विश्वविद्यालय बनाउने बताएका छन् । जनताकै आन्दोलनको बलमा विश्वविद्यालय स्थापना भएको स्मरण गर्दै उनले विश्वविद्यालयमा जनताको लगानी आकर्षित गर्ने बताए ।

 

बिहीबार केन्द्रीय कार्यालयमा सम्पन्न पदभार ग्रहण कार्यक्रममा उपकुलपति सिंहले भने ‘जनताका छोराछोरी पढ्ने विश्वविद्यालयमा सरकारको बजेट र अनुदानमात्र नभई जताको लगानी हुनु आवश्यक छ ।’


कर्णालीको गरिवी र भोकमरीको समस्या अन्त्य गर्नेगरी विश्वविद्यालयले जनशक्ति उत्पादन गर्नुपर्ने पनि उनको भनाई थियो । कर्णाली जडिबुटीको भण्डार भएको उल्लेख गर्दै उनले विश्वविद्यालयले मेडिकल कलेज स्थापना गरेर यसको लाभ लिन सक्ने बताए ।

 

विश्वविद्यालयलाई थप उचाईमा पुर्‍याउन सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने पनि उनले बताए । उनले चार वर्षे कार्यकालमा विश्वविद्यालयलाई 'छोरा' जस्तै गरी हुर्काउने प्रतिवद्धता समेत जाहेर गरे ।

 

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार यामबहादुर कार्की, विभिन्न संकायका डिन, निर्देशक, प्राध्यापक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

 

उपकुलपति रिक्त भएको करिव ६ महिनापछि विश्वविद्यालयले नयाँ उपकुलपति पाएको हो । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १९ गते सिंहलाई उपकुलपतिमा नियुक्त गरेका थिए ।

 

गत असोज ६ गते तत्कालिन उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको कार्यावधी सकिएपछि अर्को व्यवस्था नहुन्जेलसम्मका लागि व्यवस्थापन संकायका डीन डा. मस्तबहादुर गरंजालाई निमित्त उपकुलपति नियुक्त गरिएको थियो ।

 

कालिकोटमा २०२२ सालमा जन्मेका सिंह त्रिभुवन विश्वविद्यालयमा प्राणीविज्ञानका प्राध्यापक हुन् । जापानको टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनले विभिन्न विश्वविद्यालयमा अतिथि प्राध्यापकका रुपमा समेत काम गरेका छन् ।

२०७६ फागुन २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्