सेरोफेरो
२६ जेठ सुर्खेत । द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका मानव अधिकारका घटनालाई कहिल्यै विर्सन नसकिने द्वन्द्वपीडितहरुले बताएका छन् । संक्रमणकालीन न्यायका लागि अन्तर्राष्ट्रिय केन्द्र र मार्टिन चौतारीले सत्य र स्मृतिका विषयमा गरेको एक छलफलमा उनीहरुले सो कुरा बताएका हुन् ।
द्वन्द्वकालका घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिनुपर्ने उनीहरुको धारणा थियो । विभिन्न जिल्लाका द्वन्द्वपीडितहरुको सहभागीतामा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न कार्यक्रममा हामी बिर्सने छैनौं शीर्षकमा प्रकाशित अनुसन्धानात्मक कृतिको निश्कर्षबारे छलफल गरिएको थियो ।
द्वन्द्व समाप्त भई मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरिसक्दा समेत संक्रमणकालीन न्यायको कुरा गर्नु भनेको न्यायसंगत नभएको उनीहरुले बताएका थिए । ‘यो धेरै पहिलेनै सम्बोधन गर्नुपर्ने विषय हो’, कैलालीकी कृति चौधरीले भनिन् । द्वन्द्वकालमा यौन हिंसामा परेका महिलाहरु बिबाह गरी घरजम भैसकेको अवस्थामा यस्ता विषयलाई कसरी उठाउने भन्ने कुरा निकै संवेदनशील भएको पनि उनले बताइन् ।
सशस्त्र द्वन्द्व कहिल्यै विर्सन नसकिने घटना भएको र आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन पनि सत्य के हो भन्ने थाहा पाउनुपर्ने विश्लेषक सीके लालले बताए । आइसिटिजेका कार्यक्रम अधिकृत भूपेन्द्र खनालले उक्त अनुसन्धानको सार प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस्