५ चैत । चैत ६ गते बिहीबारदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) स्थगित भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बुधबार साँझ ट्वीटमार्फत् उक्त जानकारी दिएका हुन् । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न सरकारले यस्तो निर्णय गरेको हो ।
यस्तै बुधबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन पनि सर्वसाधारणलाई आह्वान गरेको छ । बैठकले पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले होटल र बसलाई संक्रमणरहित बनाउनुपर्ने, क्षमताभन्दा बढी यात्रु बोक्न निषेध गर्नुका साथै मानिसहरुको जमघट हुने सार्वजनिक महत्वका स्थलहरुमा स्थानीय तहहरुले दैनिक रुपमा सरसफाइ र डिसइन्फेक्सन गर्नुपर्ने निर्णय समेत गरेको छ ।
बैठकले होटल, रेष्टुरेन्ट तथा सपिङ्ग मलका सञ्चालकलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गर्न अनिवार्य गरेको छ । टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न पनि भनिएको छ ।
सरकारले कोरोना भइरसको संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । बैठकले युरोपका सबै मुलुक, पश्चिम एशिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो । प्रतिबन्ध २० मार्चदेखि १५ अप्रिलसम्म कायम रहनेछ ।
यस्तै सरकारले चैत मसान्तसम्म बाल विकास केन्द्र, आधारभूत तथा माध्यामिक विद्यालय र कलेजहरु बन्द गर्ने निर्णय गरेको छ । बैठकले ३० अप्रिलसम्म सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले कालोबजारी गर्ने तथा विभिन्न सञ्चार माध्यमबाट अफवाह फैलाउनेलाई कडा कारवाही गर्ने समेत निर्णय गरेको छ । समितिले सबै निर्णयको अनुगमन गर्ने जिम्मेबारी बहन गर्ने निकायसमेत तोकेको छ ।
सरकारले यसअघिनै भिजिट नेपाल २०२० को कार्यक्रम स्थगित गरेको छ ।
प्रतिकृया दिनुहोस्