१४ चैत । कोरोना भाइरसको संक्रमणमा परेका संसारका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोनमा कुराकानी भएको छ। सीसँगको टेलिफोन कुराकानीबारे ट्वीटरमा जानकारी दिँदै राष्ट्रपति ट्रम्पले कोरोनाबारे विस्तृतमा कुराकानी भएको बताएका छन्।
चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले बिहीबार भएको जी-२० मुलुकहरूको भिडिओ कन्फरेन्सपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोनमा कुराकानी भएको जनाएको छ।
‘केहीबेरअघि राष्ट्रपति सीसँग निकै राम्रो कुराकानी भयो। हाम्रो दुनियाँको ठूलो भागलाई चपेटामा पारेको कोरोना भाइरसबारे विस्तृत छलफल गर्यौं। चीनले अहिलेसम्म यो भाइरसबारे गहिरो बुझाइ विकसित गरेको छ। हामी सँगसँगै काम गरिरहेका छौं,’ ट्रम्पले लेखेका छन्।
त्यसअघि भएको भिडिओ कन्फरेन्समा चिनियाँ राष्ट्रपति सीले कोरोनाको संक्रमण रोक्न विश्वव्यापी सहकार्य हुनुपर्ने, अर्थतन्त्रलाई गति दिन कार्यक्रम ल्याउनु पर्ने र अमेरिकाले भाइरससँग जोडेर चीनलाई बदनाम गर्ने काम रोक्नु पर्ने बताएका थिए।
दुई वर्षदेखि व्यापार युद्धमा रहेका अमेरिका र चीनबीच पछिल्लो पटक कोरोना भाइरसबारे गम्भीर मतभेद देखिएको थियो। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसलाई ट्रम्पलेले चिनियाँ भाइरस भनेपछि चीन क्रुद्ध भएको थियो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सैनिकले नै कोरोना भाइरस वुहान ल्याएको एउटा जासुसी संस्थाको लिंकलाई ट्वीट गरेका थिए। त्यसपछि अमेरिकाले आफ्नो देशमा रहेका चिनियाँ राजदूतलाई बोलाएर स्पष्टिकरण सोधेको थियो।
प्रतिकृया दिनुहोस्