Birendranagar Municipality

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई थप तलब उपलब्ध गराउने मुख्यमन्त्री शाहीको घोषणा

सेरोफेरो
सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई थप तलब उपलब्ध गराउने मुख्यमन्त्री शाहीको घोषणा

१४ चैत्र । कोरोना भाईरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण र उपचार कार्यको प्रभावकारिता वृद्धि गर्न हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेशनमा खटिने सुरक्षाकर्मीलाई सुरू तलव स्केलको ५० प्रतिशत तथा चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई सतप्रतिशत थप तलव सुविधा उपलब्ध गराउने कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोषणा गर्नुभएको छ ।

 

कोरोना भाईरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले रू.५० करोडको विपद् व्यवस्थापन कोष खडा गरेको जानकारी दिनुभयो । साथै विपद व्यवस्थापनको लागि स्थापना गरिएको कोषमा मुख्यमन्त्री लगायत मन्त्रिपरिषद्का सदस्यले १ महिनाको पारिश्रमिक जम्मा गरेको बताउनु भएको छ । जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, उद्योगी, व्यापारी, अन्य संघ संस्थाहरु र दाताहरु लगायत आम नागरिकलाई यस कोषमा आ-आफ्नो तर्फबाट सहयोग गर्नको लागि आग्रह समेत गर्नुभयो ।

 

आज कर्णालीवासीलाई सम्बोधन गर्दे मुख्यमन्त्री शाहीले सो घोषणा गर्नुभएको हो । साथै शाहीले जिल्ला विपद व्यवस्थापन समितिको लागि आवश्यक कोषको व्यवस्था समेत गर्ने घोषणा गर्नुभएको हो ।

 

कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, स्थानीय तह, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारीलाई हरसम्भव परिचालनको व्यवस्था मिलाउने उहाँले बताउनु भएको छ ।


साथै मुख्यमन्त्री शाहीले यस कार्यमा सहयोग गर्न राजनीतिक दल, सामाजिक तथा सामुदायिक सँघ सँस्था, लगायत समाजका सम्पूर्ण तह र तप्कालाई आवश्यक सहयोग र सहजीकरणका लागि आव्हान गर्नुभएको छ ।

 

मुख्यमन्त्री शाहीले छिमेकी मुलुक भारत र अन्य मुलुकबाट भर्खरै आउनु भएका दाजुभाइ तथा दिदीवहिनीहरु कम्तीमा १४ दिन अन्य मानिसको सम्पर्कबाट टाढा रही आफू र आफ्ना परिवार तथा समाजलाई संक्रमणको जोखिमबाट बचाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गरिदिनुहुन अनुरोध अनुरोध समेत गर्नुभएको छ ।


यस कार्यमा सहायता र सहजीकरणका लागि सम्बन्धित स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, सभाका सदस्यहरु, सामुदायिक संघ संस्था र नागरिक समाजलाई आग्रह गर्नुभएको छ । साथै कुनै संखा लागेमा वा लक्षण देखापरेमा नजिकैको स्वास्थ्य संस्था, अस्पताल वा हेल्थ डेस्कमा सम्पर्क गर्न तथा हटलाईन सेवा १११० र फोन नं। ०८३-५२२५२६ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

२०७६ चैत्र १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्