Birendranagar Municipality

जन्म मृत्यु र मान्छे

बेदप्रकाश ढकाल
जन्म मृत्यु र मान्छे

सांकेतिक तस्बिर गुगलबाट

बेला चिन्दैन मान्छे
कुबेला भन्दैन मान्छे
गर्छ घमण्ड
धन दौलत बैंस
रुप र ताकतको
भन्दैन आफ्ना बिराना
चिन्दैन मित्र सखा
केवल प्राप्तिको होडबाजीमा
दौडिन्छ हरपल मान्छे ।

जान्दछ रुक्दैन समय
कदापी पर्खन्न बेला
जसरी फर्कन्न खोला
परन्तु
छल बल र कल गरेर
गर्छ अन्याय अत्याचार
र भोग मान्छे
निम्त्याउँछ बिकार शत्रु
र रोग मान्छे
गर्छ भूल घरीघरी
उपद्रो मच्चाउँछ नानाथरी
उर्लिन्छ भेल सरी,
कुर्लिन्छ जुनिभरी मान्छे ।

सत्य दुई जगतमा
'जन्म' र 'मृत्यु'
तथापि
अमर अजर ठानी चोला
गर्छ संग्रह धनको
भन्छ कमाउनु छ धेरै
छ तल्लिन उसैमा
तृष्णा तलबल मनको
मेट्न सक्दैन मान्छे ।

ठान्छ जान्दछु मैं
सबथोक चिन्दछु मैं
बाठो चलाख
मैं उत्तम जाती
खोज्दै राख्न
बशमा प्रकृति
जित्छु भन्दै सबथोक यहाँ
गर्दै कुतर्क कुकर्म
र भन्छ
म त देउताको सन्तान
रक्षक धर्मको
वाह! कति धुर्त छ मान्छे ।

बुझ्दैन अर्ति उपदेश
मान्दैन आदेश
खोज्छ अधिकार न्याए
जान्दैन कर्तव्य के हो
बोक्छ अहंकार
भन्छ आजादी
किन्तु
छैन आजाद मान्छे ।
काया सूक्ष्म
भय भयंकर
मात्र एकल जीवबाट
किंकर्तब्यबिमुढ
विबश लाचार छ मान्छे,
विबश लाचार छ मान्छे ।
अझै....पनि
बेला चिन्दैन मान्छे
कुबेला भन्दैन मान्छे ।

२०७६ चैत १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्