सेरोफेरो
२९ जेठ, सुर्खेत । स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पहिलो पटक बसेको वीरेन्द्रनगर नगर कार्यपालिकाको बैठकले सय दिनभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको छ । नवनिर्वाचित मेयर देवकुमार सुवेदीको अध्यक्षतामा बसेको बैठकले ‘साथ तपाईंको नेतृत्व हाम्रो, हामी बनाउँछौं वीरेन्द्रनगरलाई राम्रो’ भन्ने नारा पनि तय गरेको छ ।
बैठकले अधिकार सम्पन्न नगरपालिकाको काममा बाधा उत्पन्न गर्ने भन्दै सुर्खेत उपत्यका नगर विकास समिति लगायत विभिन्न विषयगत कार्यालयहरु खारेज गरी तिनमा रहेको अधिकार र सम्पत्ति नगरपालिका मातहत ल्याउन आवश्यक प्रकृयाको थालनी गर्ने निर्णय गरेको छ । नगरभित्र भइरहेको अव्यवस्थित जग्गा खण्डीकरण रोक्नुका साथै नगरपालिकामा थप गरिएका भुभागमा शहरी विकास गुरुयोजना निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै नगर कार्यपालिकाको नियमित बैठक हरेक महिनाको पहिलो शुक्रबार दिनको १ बजे बस्ने निर्णय गरिएको उपमेयर मोहनमाया ढकालले सेरोफेरोलाई जानकारी दिइन् ।
१०० दिनभित्र गरिने १५ योजनाहरु
१. नगरका १६ वटै वडामा वडा कार्यालय स्थापना गर्ने ।
२. एक वडा एक वाइफाई फ्रि जोन स्थापना गर्ने ।
३. छोरीको जन्म भएमा एक हजार रुपैया सहित स्थानीय बैंकमा बचत खाता खोलिदिने ।
४. सुरक्षित आमा कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई एक पटक निशुल्क भिडियो एक्सरे सेवा तथा जोखिमयुक्त आमाको उपचारमा सहयोग गर्ने ।
५. सम्बन्धित वडाअध्यक्षको उपस्थितिमा जेष्ठ नागरिकका पीर मर्का सुन्न मासिक रुपमा बाआमाका कुरा चौतारी कार्यक्रम आयोजना गर्ने ।
६. नगरलाई हराभरा बनाउन सबै घरमा कम्तीमा दुई विरुवा लगाई त्यसको संरक्षण गर्ने ।
७. वडा नम्बर ६ स्थित बजार क्षेत्रमा सडकको दायाँबायाँ विरुवा रोप्ने ।
८. दलित र विपन्न महिलालाई लेखापढि तालिम दिई विभिन्न सरकारी कार्यालय र वडा कार्यालयमा सेवा दिने व्यवस्था मिलाउने ।
९. बालउद्यान निर्माणका लागि गुरुयोजना बनाउने ।
१०. नगर विकासको पाँच बर्षे परिकल्पना सहित त्रिबर्षिय नगर योजना निर्माण गर्ने ।
११. उपत्यकाभित्रका सबै वडामा संकलित फोहर नगरपालिकाले उठाउने प्रबन्ध गर्ने ।
१२. कम्तीमा एक वडालाई प्लाष्टिक नियन्त्रित वडा घोषणा गर्ने ।
१३. हिंसापीडित महिलाका लागि नगरपालिकामा हेल्प डेस्क स्थापना गर्ने तथा समस्या समाधानमा सहजीहरण गर्ने ।
१४. एक लाख एक हजार एक सय ११ रुपैयाको सञ्चारकर्मी सहयोग कोष स्थापना गर्ने ।
१५. अपाङ्ग प्रतिभा प्रस्फुटन कार्यक्रम गर्ने ।
प्रतिकृया दिनुहोस्