Birendranagar Municipality

नगरपालिकाको अनुमतिविना राहत वितरण गर्न नपाईने

सेरोफेरो
नगरपालिकाको अनुमतिविना राहत वितरण गर्न नपाईने

१७ चैत्र । नगरपालिकाको अनुमती विना राहत वितरण गर्न नपाईने वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । नगरपालिकाका कार्यबाहक नगर प्रमुख मोहनमाया ढकाल तथा प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगर क्षेत्रभित्र अनुमति विना राहत रकम र सामाग्री वितरण गर्न नपाइने उल्लेख छ । राहत वितरण एकद्वार प्रणाली मार्फत वितरण गरिने समेत नरपालिकाले जनाएको छ ।


‘विभिन्न बस्तीमा राहत एवं सुरक्षा सामग्री वितरण गराउने तथा प्रचारप्रसारका कार्यहरू गर्ने गरेको गुनासो नगरपालिकामा प्राप्त हुन आएकाले यसरी आफू खुशी यस प्रकारको काम गर्दा संक्रमण व्यवस्थापनमा दोहोरोपना आउने, कोरोना संक्रमण झनै फैलिने जोखिम भएको र उक्त कार्यहरू र काम लक्षित वर्गसम्म प्रभावकारी नहुने देखिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘संकटको घडीलाई सबै मिलेर पार गर्ने उद्देश्यका साथ राहत, सहयोग सामग्री तथा जनचेतनाको कार्य एकद्वारबाट गर्ने गरी व्यवस्था मिलाइएको हुँदा कुनै पनि संघसंस्था व्यक्तिले आफू खुशी यस प्रकारको कार्य नगर्न नगराउन जानकारी गराइन्छ ।’

 

प्राप्त सहयोगलाई नगरपालिकाले आवश्यकताको आधारमा वितरण गर्ने र दाताको विवरण सार्वजनिक गरिने जारी विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाको अनुमति विना वितरण लगायतका गतिविधि भएको खण्डमा सम्बन्धित व्यक्ति, संघसंस्थालाई सो कार्य गर्नबाट रोकेर नियमानुसार कारवाही गरी सहयोग गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।

Press notice of Binapa

२०७६ चैत्र १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्