२२ चैत्र । वीरेन्द्रनगर नगरपालिका सुर्खेतद्वारा झुप्राखोलाका विपन्न नागरिकहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । झुप्राखोलामा बालुवा चालेर जिवनयापन गरिरहेका नागरिकहरु कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनबाट प्रभावित बनेका थिए ।
बालुवा बेचेर दैनिकी चलाईरहेका वडा नम्बर ११ शान्तीनगर (झुप्राखोला) का स्थाई ४१ घरधुरी र अन्य विभिन्न स्थानबाट बालुवा चाल्न बसेका ६५ घरधुरी गरी १०६ घरधुरीलाई खाद्यन्न वितरण गरिएको वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ११ का अध्यक्ष नन्दलाल शर्माले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले सवै नागरिकहरु बस्तीभन्दा बाहिर नगइ सुरक्षित बस्न आग्रह गर्नुभयो । कर्णालीको नाकामा पर्ने यो बस्तीमा जोखिम रहेकोले सवै नागरिकहरु शतर्क हुन ढकालले आग्रह गर्नुभयो ।
राहत वितरण गर्दे उप-प्रमुख मोहनमाया ढकालले यो संकटमा सवै सचेत भई सरकारको निर्णयलाई पालना गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले १६ वडाका करिव आठ हजार विपन्न नागरिकहरुलाई खाद्य सामाग्री उपलब्ध गराउने उपप्रमुख ढकालले जानकारी दिनुभयो ।
उक्त समुदायका लागी मध्यपश्चिमाञ्चल ट्रक तथा ट्रेक्टर संघ र डि.जि कन्सट्रक्सनका केदार शर्माले ५१ बोरा चामल, ५० केजि दाल र ५० केसी नुन सहयोग गर्नुभएको वडा नम्वर ११ का सदस्य अर्जुन सुवेदीले जानकारी दिनुभयो । साथै नगरपालिकाको २६ बोरा चामल, २ बोरा दाल र प्रतिपरिवार एक पोका नुन वितरण गरिएको वडा सदस्य सुवेदीले बताउनु भयो ।
वडा नं १२ मा राहत वितरण:
वीरेन्द्रनगर नगरपालिका वडा नं १२ का विपन्न नागरिकलाई सुक्रवार र शनिवार खाद्यन्न वितरण गरिएको छ । वडाका ५३२ परिवारलाई चामल, दाल, तेल र नुन वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्