Birendranagar Municipality

लकडाउन डायरी: सरकार, कोरोना र बिरोध

बेदप्रकाश ढकाल
लकडाउन डायरी:  सरकार, कोरोना र बिरोध

चैत ५ गते जसै सरकारले एसइइ परीक्षा स्थगित गर्यो तब शुरु भए बिरोधका नाराहरु- नालायक शिक्षामन्त्री राजिनामा दे । जसले सर्वसाधारण लाई सत्य कुरा बुझाउनु पर्ने हो तिनै कुर्लिए सामाजिक संजालमा क्रान्तिकारी बिरोधि भएर । कतिले त अहिलेका यी साना बिध्यार्थीले भोलि तिमी संग यसको हिसाब माग्नेछन, समेत भन्न भ्याए ।

 

चैत १० गते सरकारले भोलिपल्ट देखि देशमा लकडाउनको घोषणा र त्यसको पालना गर्न अपिल गर्यो त्यतिबेला सम्म पनि खोक्दै थिए- नेपाली लाई रुघा खोकीले केही गर्न सक्दैन भनेर । कतिले भने देशमा संक्रमित धेरै भैसकेको तर सरकारले सूचना लुकायो भन्दै आलोचना गर्दै थिए । सरकारले घर भित्र बस्न आग्रह गर्दै गर्दा हामीलाई के भाछ र ? यता त कोरोना आछैन भन्दै लखर लखर बिना काम घर बाहिर घुम्नेहरु तमाम देखिए । समाजिक संजालमा कतिपयले कर्फ्यु लगाएर भए पनि लकडाउन पालना गराउनु पर्ने तर्क राख्दै थिए ।


नेपाल प्रहरीले माइकिङ्ग गर्दै सबैलाइ घर भित्रै बस्न आग्रह गर्यो तर पनि टेरेनन केही मुर्खहरुले । पुलिस बाध्य भएर लाठी चार्ज गर्यो, पक्रेर केहीलाइ क्वारेन्टाइनमा समेत पुर्यायो । भोलिपल्ट देखि सामाजिक संजालमा फेरि बिरोध सुरु भयो पुलिसले ज्यादती गर्यो । मानवअधिकार र मौलिक हकका कुरा उठे । कतिपयले भने पुलिसलाई स्याबासी दिइरहेका थिए- लातको भूत बातले मान्दैन भन्दै । यसैबिच सरकारले फास्ट ट्र्याकबाट चाइनाबाट औषधि र उपकरण लिएर आयो । लगत्तै व्यापक अनियमियता भएको र प्रक्रिया नपुर्याएरै खरीद गरिएको भन्दै सरकारको तिब्र आलोचना सुरु भयो ।

 

स्वास्थ्य मन्त्रीको राजिनामा माग गरियो । उप प्रधानमन्त्री इश्वर पोखरेल र पर्यटन मन्त्रीको समेत राजिनामा मागियो । प्रतिपक्ष लाई त यो गरममसला छँदैथियो सत्तारुढ दलभित्रैबाट पनि व्यापक बिरोध र राजिनामा को माग भयो । प्रधानमन्त्रीको समेत आराम गर्ने बेला भएको भन्दै घुमाउरो पारामा राजिनामा माग भयो । दाउ आफ्ना आफ्ना, भित्र र बाहिर दुबै तर्फ ।


चाइनाबाट ल्याइएका औषधि उपकरण कमसल भएको र अत्यधिक अनियमितता भएको भनी बाहिर र भित्रैबाट समेत बिरोध भएकोले ती सामाग्री प्रयोग भएनन । नेपाली सेना मार्फत अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद गर्ने गरि सरकारले निर्णय गर्यो । त्यसको पनि बाहिर र भित्रैबाट समेत आलोचना भैरहेको छ । कतिले त सत्ता नै सेनालाइ बुझाइदेउ समेत भन्न भ्याएका छन् ।


उता भारतिय सीमामा आएर अलपत्र भएका नेपाली को कथा ब्यथा पनि दर्दनाक नै रह्यो । देश लकडाउन भएकोले उनिहरुलाइ नेपाल कसरी ल्याउने भन्ने बिषय पनि गम्भीर थियो । केही ढिला भएकोले सरकारको खुबै आलोचना यो केसमा पनि भयो । धेरैजसो लाई सरकार ले प्रदेश सरकारको समन्वयमा देश भित्र्यायो तर उनिहरुलाइ कसरी ब्यबस्थापन गर्ने भन्ने अर्को टाउको दुखाइको बिषय बन्यो सरकारलाइ ।

 

जेनतेन उनिहरुलाइ विभिन्न ठाउँमा क्वारेन्टाइनमा राख्ने ब्यबस्था मिलाइयो तर कतिपय त्यहाँ बस्न नमानी रातारात भागे । पुनः प्रश्न उठ्यो सरकारको योग्यता माथी । एकजना नेपाली सिमामा प्रवेश नपाए पछि महाकाली नदीमा पौडेर नेपाल छिरे । साँच्चै भनौं भने सानोतिनो पीडा र बाध्यताले उनले त्यो कदम उठाएनन । तिनै ब्यक्तिलाइ पक्रेर नाङ्गै खाली खुट्टा प्रहरीले डोर्याएको तस्वीर भाइरल भयो सामाजिक संजालमा ।

 

फेरि भयो बिरोध र आलोचना सरकार र पुलिसको । उता रुपैडिहा नाकामा अलपत्र नेपालीहरुलाइ सरकारको कुटनैतिक पहलमा भारतमै क्वारेन्टाइनमा राख्ने सहमती बमोजिम नेपालमा भएका भारतियहरु लाई पनि नेपालमै क्वारेन्टाइनमा राखिने ब्यवस्था भयो ।


चैत १८ सम्म भनिएको पहिलो चरणको लकडाउन पुनः चैत २५ सम्मका लागि थपियो । गरीव र मजदुर का लागि सरकारले राहत प्याकेज नल्याएको भनी पुनः आलोचना भयो सरकारको । राहत बितरण, मास्क साबुन र सेनिटाइजरको नाममा निकै राजनीति भयो । फोटो खिचेर देखाउनकै लागि र मिडियाबाजिकै निम्ति घर घर पुगेर राहत बाँड्ने निहुँमा खिचिएका तस्वीर हरु भाइरल भए सामाजिक संजालमा ।

 

उता सरकारले स्थानिय निकाय मार्फत गरीव र श्रमिकको पहिचान गरि राहत बितरणको जिम्मा दियो । यसमा पनि हुनेखानेहरुले राहत लिए भन्ने जनगुनासो सुनिएको छ ।लकडाउन पुनः थपिने सम्भावना प्रवल छ र यो आवश्यक पनि छ । सम्भवत: सरकारले आजै थप गर्ने निर्णय गर्ला । किनकी भोलि २५ गते यसको अवधी सकिँदैछ । यद्यपि लकडाउन मात्रै समस्याको समाधान होइन भन्ने आवाजहरु पनि उठिरहेका छन ।


सरकारले अहिले सातवटै प्रदेशमा कोरोना परिक्षणको लागि मेसिन (ल्याब) को ब्यवस्थापन गरिसकेको छ र परिक्षणको कम समेत शुरु भैसकेको छ । अस्ति २२ गते धनगढी का ३ जनामा संक्रमण देखिए पछि अहिले नेपालमा कोराेना भाइरसबाट संक्रमितको संख्या ९ पुगेको छ ।यो संगै यसलाइ नेपालमा कोरोना संक्रमणको दोस्रो स्टेज मानिएको छ किनकी अहिले नेपालमै रहेका ब्यक्तिमा समेत संक्रमण पुष्टि भएको छ ।

 

यो भन्दा अघि बिदेशबाट आएकाहरुमा मात्र संक्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ११३ जनालाइ आइसोलेसनमा राखिएको छ र ती मध्य २४ जना रेडजोन अर्थात खतराको घेरामा छन् । अहिले फेरि बिरोध शुरु भएको छ- सरकारको अक्षमताले हामी मर्ने भयौं भनेर । जो हिजो क्वारेन्टाइन बाट भागेर घर पुगे तिनीहरु र तिनका परिवार संक्रमणको उच्च जोखिममा छ्न । सरकारले बिदेशबाट आएकाहरुको खोजी गरि तिनिहरुलाइ क्वारेन्टाइन मा राख्ने कार्यलाइ तिब्रता दिएको छ ।


अहिले सम्म संसारभर संक्रमितको संख्या १२ लाख ७५ हजारको आसपास छ भने यसका कारण मृत्यु हुनेको संख्या करीब ७० हजार छ । बिश्वका प्राय सबै देशहरुमा (१०८) कोभिड १९ को संक्रमण फैलिइसकेको छ । महाशक्ती राष्ट कहलाउने अमेरिकालाइ समेत घुडा टेकाएको छ यसले । इटली स्पेन र बेलायत समेत लखतरान छ्न यसबाट ।

 

यतिबेला संसारका कुनै पनि सरकार पूर्णतया सक्षम र योग्य छन भन्न सक्ने अवस्था छैन । हाम्रो जस्तो अल्पबिकसित देश जहाँ स्वास्थ्य उपचारको न्युनतम पुर्वाधार समेत उपलब्ध छैन, तै पनि यस्तो भयावह स्थितिको सामना गर्ने आँट गरेको छ सरकारले । त्यसो त कमिकमजोरी थुप्रै होलान् काम ढिलो भएको होला, समयमै राहत नपुगेको होला, स्वास्थ्य सामाग्री पुग्दै होलान, निर्णयमा केही त्रुटि भएको होला यद्यपि पहल र प्रयास त जारी छ नि ।

 

उपलब्ध सामाग्री को बितरण भैरहेको छ । क्वारेन्टाइन बनाइएका छन । बिरामी लाई अवस्था हेरेर आइसोलेसनमा राखिएको छ । आवश्यक उद्धार भएको छ । आवश्यक स्वास्थ्य सामाग्री खरिदको प्रकृया अगाडि बढाइएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हरु अहोरात्र खटेका छन । देशलाइ लकडाउन गरिएको छ ।

 

अन्तरास्ट्रिय स्तरमा कुटनैतिक पहल गरि सहयोगको अपिल गरिएको छ । दैनिक आपुर्ती गर्नुपर्ने कुरामा पहल गरिएको छ । आधारभुत आवश्यकता पुर्तिमा ध्यान पुर्याएकै छ ।कोभिड १९ संक्रमणको उपचार र थप उपचारको तयारी भैरहेको छ । तत्कालका निम्ति यिनै त हुन गर्नु पर्ने कुरा । के हाम्रो भान्सामा सहयोग गर्न आउने हो र सरकार ? के जादुको छडी नचाएर हरेक समस्याको समाधान छिनभरमै गर्न सक्छ र सरकार ?

 

यतिबेला कोरोना बिरुद्ध प्रतिकार्य गर्दै देशमा सरकार छ र परेमा हामीलाई सहयोग गर्छ भनेर प्रत्याभुत गराउनु सरकारको पहिलो दायित्व हो र यो सरकारले गरिरहेको छ ।कहिँ कतै अनियमितता भएका छन वा सरकारी निकायहरुले गल्ती गतेका छन भने तिनको खबरदारी गरौं त्यसो गर्नेहरुलाइ छानविन गरि कारवाही पनि गरोस सरकारले तर अहिलेको आवश्यकता देशलाइ कोरोनाबाट बचाउनु र मानवताको रक्षा गर्नु हो ।

 

सरकारको बिरोध गर्ने हामीले के आफ्नो कर्तब्य कति निर्वाह गरेका छौं ? कम्तिमा लकडाउनको पूर्ण पालना गरेका छौं ? असल सरकारको अपेक्षा गर्ने हामी असल नागरिक बन्ने कि नबन्ने ? जबसम्म हामीले यी कुरालाइ मनन गर्न सक्दैनौं तबसम्म सरकार एक्लैले केही गर्न सक्दैन । हो देशमा लोकतन्त्र छ बिरोध गर्न पाइन्छ, आलोचना गर्न पाइन्छ, तटस्थ बस्न पाइन्छ, असहयोग पनि गर्न पाइन्छ तर असहयोग गर्नेहरुले प्रश्न उठाउन पाइन्न । जहाँ अधिकारको खोजी गरिन्छ त्यहाँ नागरिक कर्तब्य पनि जोडिएर आउँछ ।

२०७६ चैत २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्