Birendranagar Municipality

वीरेन्द्रनगर नगरपालिका द्वारा दुई करोडको कोष स्थापना, फिल्डमा खटिने पदाधिकारीको वीमा गरिने

नगरपालिकाले नगरक्षेत्र भित्र अत्यावश्यक खाद्य वस्तु बाहेक तरकारी दुध जस्ता पदार्थहरु अन्य पालिकाबाट आयातमा रोक लगाईएको छ । वडा कार्यालयले ब्यवस्थापन गर्ने गरी क्रमशः वडाहरु र टोलहरु लकडाउन गर्न सकिने ब्यवस्था समेत गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
सेरोफेरो
वीरेन्द्रनगर नगरपालिका द्वारा दुई करोडको कोष स्थापना, फिल्डमा खटिने पदाधिकारीको वीमा गरिने

२४ चैत्र । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषको स्थापना गरेको छ । चैत्र २४ गते सोमबार बसेको कार्यपालिकाको बैठकको निर्णयानुसार नगरपालिकाको साविकमा वाणिज्य बैंक सुर्खेत शाखामा रहेको प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ४०८०३०५०५०००२ मा नै रकम कारोबार गर्ने गरी रु २ करोड रुपैयाको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषको स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

 

जुन कोषमा हाल नगरस्तरीय ठूला ४ वटा योजनाहरुबाट प्रतियोजना ५० लाख कटौती गरी रकमान्तर गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका र अन्तर्गत राहत तथा विभिन्न सहयोग गर्न चाहने ब्यक्ति वा संस्थालाई सो कोषमा रकम सहयोग गर्नुहुन नगरपालिकाले अनुरोध समेत गरेको छ । हाल सम्म गरिएको राहत वितरणमा ९३ लाख २५ हजार खर्च भएको नगरपालिकाले जनाएको छ ।

 

नगरपालिका अन्तर्गत कोरोना संक्रमण विरुद्धको ब्यवस्थापनमा खटिने कुनै पदाधिकारीलाई कोरोना संक्रमण भएमा निःशुल्क उपचारको ब्यवस्था गर्ने र कुनै कर्मचारीले ज्यान गुमाउनु परेमा आश्रित परिवारलाई १० लाख रुपैया नगरपालिकाले राहत तथा क्षतिपुर्ति दिने निर्णय समेत गरेको उप प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो ।
वीरेन्द्रनगरका विभिन्न वडाका वडा सचिबहरु, सरसफाईमा खटिने कर्मचारी, लगाएतका स्वास्थ्यका कर्मचारी जो लकडाउनको समयमा पनि फिल्डमा खटिएका छन् उहाँहरुको बिमा गर्न लागिएको ढकालले बताउनु भयो । ‘वीरेन्द्रनगर समेत जोखिमको क्षेत्र बनेको छ, उपप्रमुख ढकालले भन्नुभयो ‘अब कडाईका साथ कोरोना नियन्त्रणमा लाग्ने निर्णय गरेका छौं ।’

 

यसैगरी नगरपालिकाले नगरक्षेत्र भित्र अत्यावश्यक खाद्य वस्तु बाहेक तरकारी दुध जस्ता पदार्थहरु अन्य पालिकाबाट आयातमा रोक लगाईएको छ । वडा कार्यालयले ब्यवस्थापन गर्ने गरी क्रमशः वडाहरु र टोलहरु लकडाउन गर्न सकिने ब्यवस्था समेत गरिएको छ ।

 

हालसम्म नगरपालिकाका वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०,११ र १२ का विभिन्न स्थानहरुमा दमकलद्वारा डिस्ईन्फेक्ट छर्ने कार्य भएको भएको र दमकल तथा ट्याङ्कर नपुग्ने वडा तथा टोलहरुमा ट्याङ्कीद्वारा छर्कने कार्य सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो । नगरपालिकाका विभिन्न वडाहरुमा बसोबास गर्ने अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरु जो लकडाउनको कारणले दैनिक कार्य गर्न नपाउने अवस्थामा रहेका छन् त्यस्ता परिवार मध्ये करिव ६६०० परिवारलाई खाद्यान्न (दाल,चामल,नुन र तेल) वितरण गर्ने तयारी पूरा गरिएको र हाल सम्म विभिन्न टोलहरुका ३९०५ परिवारलाई त्यस्तो राहत वितरण गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।

 

यसैगरी विदेशबाट हालै आएर विभिन्न वडाहरुमा बसोबास गरेका विभिन्न १९२ जना ब्यक्तिहरुको विवरण तयार गरी मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा पठाईएको नगरपालिकाले जानकारी दिएको छ ।

 

नगरक्षेत्रका सबै स्वास्थ्य सँस्थाहरुमा न्यूनतम् औषधी र PPE पठाईएको नगरपालिकाले जनाएको छ । यस संकटपूर्ण घडीमा अहोरात्र खटिने कर्मचारीहरुलाई उच्च मनोबलकासाथ कार्य गर्न प्रोत्साहन खर्च (स्तर अनुसार प्रतिदिन ६०० देखि ८०० सम्म) प्रदान गर्ने समेत निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।

२०७६ चैत्र २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्