Birendranagar Municipality

वीरेन्द्रनगरका जनप्रतिनिधीले चैत्र महिनाको घरभाडा नलिने, घरधनीलाई समेत मिनाह गर्न आग्रह

सेरोफेरो
वीरेन्द्रनगरका जनप्रतिनिधीले चैत्र महिनाको घरभाडा नलिने, घरधनीलाई समेत मिनाह गर्न आग्रह

२६ चैत्र । वीरेन्द्रनगर नगररपालिका अन्तर्गतका आफ्नो घर बहालमा दिएका सबै जनप्रतिनिधीहरुले २०७६ चैत्रको एक महिनाको घर भाडा मिनाह गर्ने निर्णय गरेका छन् । वीरेन्द्रनगर नगरकार्यपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षता बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । साथै नगरक्षेत्रभित्र आफ्नो घर बहालमा दिने अन्य घर धनीलाई समेत एक महिनाको भाडा मिनाह गर्न नगरपालिकाले आग्रह गरेको छ । कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका नागरिकको पक्षमा नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

 

नगरपालिका क्षेत्र बाहिर स्थायी ठेगाना भई वीरेन्द्रनगर नगरपालिका भित्र अस्थायी बसोबास गर्ने बासिन्दा मध्ये दैनिक ज्याला मजदुरी गरी साँझ बिहान छाक टार्नुपर्ने र बन्दको कारणले साँझ विहान न्यूनतम् खाद्यान्न ब्यवस्था गर्न नसकेका अति विपन्न मजदुर तथा विद्यार्थी परिवारहरुलाई न्यूनतम् खाद्यवस्तु (दाल, चामल, नुन तेल) उपलब्ध गराउने समेत निर्णय गरेको कार्यबाहक प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो ।

 

यसको लागी नगरस्तरीय विभिन्न १६ वटा योजनाहरुबाट प्रति योजना पाँच लाखको दरले कटौती गरी जम्मा रकम ८० लाख बिनियोजन गरी कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रकमान्तर गरी खर्च गर्ने निर्णय गरेको का.बा प्रमुख ढकालले बताउनु भयो।

 

राहत प्राप्त गर्ने सेवाग्रहीको विवरण सम्बन्धित घरधनी तथा टोल बिकास सँस्थाको सिफारिसमा संकलन गरी वडा कार्यालय मार्फत वितरण गर्ने नगरपालिकाले जनाएको छ। वास्तविक वर्गले राहत पाउने गरी सबै वडा कार्यालयले राहत वितरण पश्चात सार्वजिक सुनुवाई र सामाजिक परीक्षण समेत गर्ने ब्यवस्था मिलाउने समेत निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो ।

 

यसैगरी मापदण्ड विपरित गलत नाम सिफारिस गर्ने घरधनी, टोल विकास पदाधिकारी र राहत लिने परिवारलाई समेत नगरपालिकाले कार्वाही गर्ने र आगामी दिनमा सेवा सुविधा रोक्ने गरी वितरित राहत असुल उपर गर्ने समेत निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनु भयो ।

 

वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र हाल सम्म विभिन्न वडाहरु मार्फत करिव ६००० घर परिवारलाई राहत वितरण गरिएको जानकारी दिएको छ । विदेशबाट आई हाल सम्म नगरक्षेत्रभित्र आ आफ्नो होम क्वारेन्टाईनमा बसेका विभिन्न १९५ जना ब्यक्तिहरुलाई स्वास्थ्यकर्मीबाट नियमित निगरानी गरिएको नगरपालिकाले जनाएको छ ।

२०७६ चैत्र २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्