पढ्दा शरीरका रौं ठाडा हुने, आङै जिरिङ्ग हुने, मनमा गाँठो पर्ने र आँखा रसाउने कुनै रसायन नमिसाएको अर्गानिक अक्षरहरुको थुप्रो नै कविता हो । मलाई कविताबारे यति मात्रै थाहा छ ।
लाग्न सक्छ, कविता थाहा नपाएको ‘नाथे’ले के कविता संग्रहको रिभ्यू गर्ला? तर वोर्डस्वर्थले भनेजस्तै मनोभाववाट निःसृृत कविता आफै बग्छ । जता पनि पुग्न सक्छ । पुच्छर समातेर त्यतै त्यतै जाने न हो पाठक । किनभने कविताको पुच्छर पनि सुन्दर हुँदोरै’छ सपनाको जस्तै । सगरमाथाको गहिराइले मलाई जताकतै पुर्यायो । एक अद्भूत यात्रा । तर रोमाञ्चक । यहीं पुगियो भन्ने छैन तर नपुगेको कतै छैन । यात्रा होस् त यस्तो । आहा! कविता यात्रा ।
कविताको रिभ्यू कति कठीन काम हो यसै भन्न सक्दिन । त्यो त समालोचकहरुले भन्लान् । तर, सगरमाथाको गहिराइ पढेपछि आफ्नै मनको उचाई रिभ्यू गरें । किनकि कविता मनमा हुन्छ । मनलाई छुन्छ । वरपर घुम्छ र मनमै बस्छ । यसैले कविता मनले पढ्छ र मुखले सुन्छ ।
यो रिभ्यू कवि नवराज पराजुलीले पढ्लान् वा नपढ्लान् । त्यो अर्कै कुरा हो । यो रिभ्यूले उनलाई करेन्ट लगाउला भन्ने पनि म ठान्दिन । यो त तार टाँगेर विजुली नछोडेको खम्बा न हो । चुनावअघि नेताले गाउँमा विजुली लैजान गरेको तमासाजस्तै ।
कविता यस्तो विधा हो जसले जसरी पनि अथ्र्याउन सक्छ । यद्धपी कविताले प्रतिनिधित्व गरेको समय र सन्दर्भ भने महत्वपूर्ण हुन्छ । संग्रहित कविताका सन्दर्भहरुले धेरैका घाउको पाप्रो उक्काएको छ । यस अर्थमा कवि अपराधी हुन् ।
कविले कवितामा अक्षरमात्र हैन करेन्ट पठाएका छन् । पढ्दै जाँदा बीचबीचमा झमझम हुन्छ । मन अरिगाँठे हुन्छ । आँखामा बत्ति बल्छ । तिरिमिरी । राष्ट्रिय निकुञ्जमा जस्तै कविताको वरिपरी यसरी करेन्ट छोड्न मिल्छ कि मिल्दैन हँ?
कविता पढेर म बहुलठ्ठी जस्तै भएको छु । थाहा छैन म कतिपटक ‘लोकसेवा आयोग’ कवितामा जस्तै विपनाबाट ब्यूँझिएर सपनामा पुगेको छु । ‘वामपन्थी लभ’मा जस्तै कतिपटक पानीपुरी र मःमको स्वाद लिएं । कतिपटक आँखाको थरमसमा भरिएर पोखिएको नुनिलो मनतातो पानीको ‘चाह’ खाएं । यस अर्थमा कवि अपराधी हुन् । अरुलाई रुवाउने कवि मुर्दावाद ।
संग्रहभित्र रहेका ३६ वटै लामा–छोटा कविता उत्तिकै वजनदार छन् । कविताले व्यक्तिका निजी भावना, सामाजिक चेतना र वर्तमान अवस्थालाई उद्धेलित गरेका छन् । ‘प्रहरी’ कवितामा आमाको पाठेघरको अपरेसन गर्न साथीसंग सापटी मागेको दृश्य दर्दनाक छ । ‘च्याउ’ कवितामा सामाजिक शिक्षा पढाउने सर, ‘ब्रम्हाजीको रजस्वला’का देवता, ‘बुद्धको टाउकोको मोल’का जुँगे प्रधानमन्त्री, ‘सतीदेवीको गाण्डिव’को दाइजो, ‘भाषण’को नेता र फेल भएको ‘लोकसेवा आयोग’ हामीले भोगेको समय हो । समाजका सबै बेथितिविरुद्ध एकैचोटी ‘अणुवम’ प्रहार गर्ने कवि ‘आतंककारी’ नभए के हो? अतः सगरमाथाको गहिराइ विद्रोहको घोषणापत्र हो ।
कविता पढ्नुको मजा भनेकै ‘जे पायो त्यही’ सोच्न खुला हुनु हो । मनका भावनालाई कितावका अक्षरसंग घोलेर मिठो सर्वत बनाउनु हो ।
‘बुबा’ कविताको दुई हरफ–
‘अब ज्योतिषीलाई के देखाउनुहुन्छ, बुबा
हात कि हलो?’
बाल्यकालमा हामी यस्तै आशयको अर्कै कुरा गर्थ्यौं ।
‘लोकसेवा आयोग’ कविताका तीन हरफ–
‘कुन देशका जोडीहरु
फरक ओछ्यानमा सुतेर
एउटै सपना देख्छन्?’
‘मिलियन डलर क्वेसन’ हो यो ।
रुख कविताको चार हरफ–
‘छोराको गिजामा दाँत आउनुअघि
म ठेट्ना मकै चबाएर उसलाई खुवाउँथें
मेरो गिजाबाट दाँत गइसकेपछि
उसले ठेट्ना मकै चबाएर ख्वाइदिए हुन्थ्योजस्तो लाग्छ ।’
मन चुँडाल्न यो भन्दा अर्को बाण हान्नुपर्दैन ।
ठोकेरै भन्न सकिन्छ– यो भन्दा राम्रो ‘हेब्बी बड्डे’ अर्को कसैले लेख्दैन ।
संग्रहका कविता कुनै गीताभन्दा कम छैनन् । तिनमा दर्शन छन् । जीवन र जगत सम्झाउने दिव्य चेष्टा छन् ।
‘म यात्री हैन
यात्रा हुँ
म बटुवा हैन
बाटो हुँ
मलाई कहीं पुग्नु छैन ।’
‘मोक्ष’का यी हरफ बजारमा किन्न पाइने ज्ञान (आँटा) होइन ।
‘आफ्नो फुक्लेको पुरानो दाँत
र पलाएको नयाँ दाँत
आमा–बाबालाई देखाउन नपाएका सन्तानले
आधा उमेरमै पूरा जिन्दगी बुझ्न सक्छन् ।’
‘बुद्धको टाउकोको मोल’का यी हरफ प्लेटोका पुस्तकमा पनि नपाइने दर्शन हो ।
सगरमाथाको गहिराइ विम्वको घर हो । यसमा प्रयुक्त विम्वले हाम्रो बुझाइ विनिर्माण गरेको छ । हामीले हालसम्म सगरमाथाको उचाई मात्रै नापेका थियौं । कविले गहिराइ । सार्वभौम दुःख, पीडा, र बेदनालाई विम्बमा प्रस्तुत गर्न सफल छन् कवि । मेरो माग छ– सरकारले उनलाई नेपालीजनको दुःखको गहिराई नाप्ने जागीरमा 'करार' गरोस् । अझै ‘आमा’ कविता छाप्नु जो छ । शुभकामना ।
अन्त्यमा, के के न लेखुँला लागेको थियो । सोचेको लेख्नै सकिन । सकेको भए त म पनि कवि हुन्थें होला नि हैन कविज्यू? रिभ्यूपनि रिभ्यूजस्तो भयो कि नाइँ? हुनत तपाईंका कवितै बाङ्गा छन् । बटारिएका ।
यसपालि यस्तै भयो ।
प्रतिकृया दिनुहोस्